तिहार भन्नेबित्तिकै दुइटा कुरा झट्ट दिमागमा आइहाल्छ - एउटा बत्ती, अर्को सेलरोटी।
बत्तीको बारेमा हाम्रो अर्को स्टोरी हेर्नुहोला (लक्ष्मी डाक्न बाल्नुपर्ने दियो हो, झिलिमिली होइन), यहाँ भने सेलको कुरा गरौं।
दिदीबहिनीहरूले भाग लगाएर दिने सगुनमा जतिसुकै मिष्ठान्न भए पनि सेलरोटीबिना अपुरो हुन्छ। तिहार संस्कृतिको अभिन्न अंग मानिने यही सेल केही समययता आम्दानी र रोजीरोटीको माध्यम पनि बनेको छ।
रामेछापका नारायण–सीता श्रेष्ठ दम्पत्ति तिनैमध्ये एक हुन्, जसलाई तिहार लागेदेखि सेल पकाउन भ्याइनभ्याइ छ।
काठमाडौंको जयबागेश्वरीबाट मित्रपार्क छिचोल्ने भित्री बाटो। मूल सडकबाट भित्र नपस्दै पहिलो सटरछेउ सेल पकाउन व्यस्त छिन् सीता। तिहारको चटारोले उनलाई पनि छोएको छ। आफ्ना लागि होइन, ग्राहकका लागि।
दिनहुँ स्वादिलो सेल बनाएर पस्कँदै आएकी सीता तिहारमा तीन गुणा व्यस्त छिन्। बिहान ४ बजेदेखि उनको ताइमा सेल पाक्न थाल्छ। नाङ्लाजत्रै ताइमा एकैपटकमा छवटा सेल पाक्छन्।
‘अघिपछि दस किलो पीठोको सेल पकाउथेँ। तिहार बेला एक बोरा पीठोको पकाउनुपर्छ,’ उनी भन्छिन्।
श्रेष्ठ दम्पतीले सेल पकाउन थालेको छ वर्ष पूरा भयो। उनीहरू आफूले जानेकै सीप प्रयोग गरेर राम्रो आम्दानी गरिरहेका छन्। छोराछोरीले पनि काममा सघाउँछन्। छोरी सुनिताले सेल पकाउन जानिसकेको सीताले बताइन्।
‘परिवारको साथ र सहयोग भए काम गर्न धेरै सजिलो हुन्छ,’ उनले भनिन्, ‘मैले नभ्याएको बेला छोरीले पकाउँछे, बाबु-छोरा मिलेर बेच्छन्।’
श्रेष्ठ दम्पतीले पकाउने सेल यो क्षेत्रमा निकै लोकप्रिय छ। पर-परबाट मान्छेहरू मीठो मान्दै सेल खोज्न आउँछन्। यसले सीता र नारायणलाई खुबै सन्तुष्टि दिन्छ।
'कतिले त विदेश पठाउन भन्दै लिएर गएका छन्,’ नारायणले भने, ‘यहीँ पनि कलंकी, कोटेश्वर र बालाजुदेखि आउँछन्। कसैले नमिठो भनेको थाहा छैन।’
उनी सेल पकाउनै भनेर काठमाडौं आएका थिएनन्। अवसरको खोजीमा काठमाडौं छिरेका नारायणले लामो समय टुक्राटुक्री काममा बिताए। कहिले तरकारी व्यवसाय गरे, कहिले किराना पसल थापे त कहिले चिया बेचे। घरपरिवार जेनतेन चलेकै थियो, तर भनेजस्तो भएको थिएन।
भरपर्दो काम खोजिरहेका बेला कसैले उनीहरूलाई सुझाइदियो– बरू सेल पकाएर बेच, हामी खान आइहाल्छौं।
नारायणलाई चित्त बुझेन। भने, 'कस्तो कस्तो काम गर्दा त भएको छैन। सेल बेचेर पनि उँभो लागिएला त!'
सीतालाई भने उपाय गज्जब लाग्यो। आफैंले सरजाम जुटाएर बनाउन सकिने, ठूलो लगानी नचाहिने र लगानी डुबेर खत्तम भइएला कि भन्ने चिन्ता पनि नहुने- उनी हौसिइन्।
‘मलाई पकाउन आइहाल्छ, तपाईं बेच्नू,’ उनले श्रीमानलाई कर गर्दै भनेका वाक्य दोहोर्याइन्, ‘अब एकफेर यो काम पनि गरी हेरौं न त। राम्रो भए ठिकै छ, नभए अर्को काम गरौंला।’
नारायण सहमत भए।
२०७० सालको बालाचतुर्दशीका दिन केही सेल बनाएर उनीहरू पशुपतिमा बेच्न गए। लैजान नपाउँदै सबै बिक्री भयो।
‘के होला र जस्तो लागेको थियो, नसोचेको हुने रहेछ,’ सेल बेचेको पहिलो दिन सम्झँदै नारायणले भने, ‘त्यो दिन त रातैभरि सेल बनाउँदै बस्यौं।’
सेल बनाउने र बेच्ने श्रेष्ठ दम्पत्तिको काम जारी छ। घरपरिवार राम्रै चलेको नारायण बताउँछन्।
‘छोरीले नर्सिङ सकिन्, छोराले पनि साइन्समा प्लस-टु पढ्दै छ,’ खुसी साट्दै उनले भने, ‘सेल बेचेरै पढाएको त हो, इमानदार र लगनशील भएर काम गरे राम्रै हुँदो रहेछ।’
यसबीच २०७२ को भुइँचालोले अरू व्यापार-व्यवसायजस्तै उनीहरूको सेल व्यापार पनि प्रभावित भयो। भुइँचालोले टहरा भत्कियो, ग्राहक कम भए। त्यो समय जसोतसो पार गरेर उनीहरू पुरानै अवस्थामा फर्किएका छन्।
‘अहिले त अर्को पसल पनि खोलेको छु,' पारिपट्टिको किराना पसल देखाउँदै उनले भने, 'गर्न सके राम्रै होला नि।’
बिहान चार बजेबाट उनीहरूको दैनिकी सुरु हुन्छ। पिठो भिजाउँदा र पकाउँदा बिहान भैसक्छ। बिहानको भ्रमणमा निस्किएकाहरू नै उनीहरूका पहिलो ग्राहक हुन्। ताइबाट निकाल्न नपाउँदैको रोटी चाख्न पाउँदा ग्राहक पनि खुसी हुन्छन्।
उनीहरूका प्राय: ग्राहक नियमित छन्। नौ बज्दासम्म सबै सेल बिक्री भइसक्छ। त्यसपछि ग्राहकको चाप हेरेर दोस्रो खेप बनाउँछन्। चाडपर्व बेला भने अर्डर पुर्याउनै मुश्किल हुने उनीहरू बताउँछन्।
पहिले सीता एक्लैले दिनको हजारवटा सेल पकाउँथिन्, अहिले पाँच-छ सयभन्दा बढी पकाउन सक्दिनन्। त्यसपछि छोरी मद्दत गर्न आउँछिन्।
‘सेल पकाउन गाह्रो नि, तेलको रागले नाकआँखा पोल्छ, तेल उछिट्टिएर कहिले हातमा, कहिले आँखामै परिदिन्छ,’ उनले सेलको सकस सुनाइन्।
तै केही काम नपाएर बस्नुभन्दा आफूले जानेको सीप प्रयोग गर्न पाउँदा सीता दंग छिन्।
सबै तस्बिरः समिक्षा अधिकारी/सेतोपाटी