महाकवि लक्ष्मीप्रसाद देवकोटा २०१२-१३ सालतिर साइकल चढेर डिल्लीबजारबाट कुपण्डोल नियमित आउजाउ गर्थे। बागमती पुलछेउको 'प्रगति' द्वैमासिकका सम्पादक नारायणप्रसाद बाँस्कोटाको घर उनको गन्तव्य थियो।
कमलमणि दीक्षितले त्यस बेला देवकोटा साइकलमा सवार भएको तस्बिर आफ्नो किताब ‘गुरुभेटी’ को अन्तिम पातोमा छापेका छन्। उक्त तस्बिरले तत्कालीन समयमा उपत्यकाको मुख्य सवारी साइकल थियो भन्ने देखाउँछ।
आज करिब ६५ वर्षपछि ललितपुर महानगरपालिका कार्यालय, पुल्चोकको प्रांगणमा शनिबार बिहान मेयर चिरिबाबु महर्जन साइकलमा देखिए। छोराले वर्षौं चलाएर थन्क्याएको ३३ वर्ष पुरानो साइकलमा सवार उनी हँसिलो मुद्रामा देखिन्थे। भने, ‘साइकल मजस्तै पुरानो हो, तर एकदम राम्रो छ।’
सन्तोशा कम्पनीको सिंगापुरे साइकल राम्रो भए पनि उकुसमुकुस उपत्यकाको सार्वजनिक यातायात र सडक व्यवस्थापनको अवस्था भद्रगोल छ।
देवकोटापछि आफ्नै पालामा समेत सहरमा फेरि साइकल प्रेम जगाउन मेयर महर्जन सयौँ साइकल यात्रीको नेतृत्व गर्दै कुपण्डोलतिर लागे। उनलाई पछ्याउँदै ललितपुर–१३ का वडाध्यक्ष गणेश केसी लगायत साइकल अभियन्ता र साइकल प्रेमीहरू मुख्य बाटोमा निस्किए।
सबै साइकल यात्री सेतो रंगको धर्सो कोरिएको साइकल लेनमाथि गुडिरहेका थिए।
ललितपुरको सडकमा शनिबारबाट साइकल लेन सुरू भएको हो। सधैं हेपिएर, पेलिएर यात्रा गर्न बाध्य साइकल चालकहरू ठाउँ-ठाउँमा साइकलकै आकृति बनाइएको सडकमाथि गुड्न पाएर रमाइरहेका थिए। वर्षौंदेखि लेन बनाउन पहल गरिरहेका साइकलेहरूमा बेग्लै जोस देखिन्थ्यो।
स्कुटरमा सवार एक महिला साइकल लेनभित्रै अल्पमतमा परिन्। साइकलवालाहरूले जिस्काउँदै भने– हाम्रो लेनमा स्कुटर किन?
ती महिलाले असजिलो महशुस गरिन् र बाटो छाडिदिइन्।
हुन त साइकल लेनको घेराभित्र ठाउँ-ठाउँमा मोटरसाइकल र स्कुटर गुडिरहेका थिए, तर साइकल यात्रीहरू नजिक आउनासाथ उनीहरू परपर हटेको देखिन्थ्यो।
वयस्क, युवा र केटाकेटी उमेरका साइकल यात्रुका लुगा र पछाडि भिर्ने झोलामा साइकलमैत्री सडकको पक्षमा नारा टाँसिएका थिए–
आवाज साइकलको, पाइला तपाईंको
साइकल यात्री, वातारण मैत्री
लाग्यो रहर, साइकलमा फरर
बदले सोच, बदलिन्छ सहर
मेयर महर्जनको ज्याकेटमा भने ‘म साइकल यात्री’ लेखिएको ब्याच थियो।
‘ललितपुर साइकल लेन निर्माण शुभारम्भ कार्यक्रमको औपचारिक उद्घाटन’ कार्यक्रमका लागि कुपण्डोल पुगेका मेयर र अरू यात्री पुलवारि दायाँतिर प्रकाश साइकल स्टोरमा पुगेर रोकिए। त्यहाँ केही साइकलप्रेमी पहिल्यैदेखि कुरेर बसेका थिए।
मेयर महर्जनले ब्रसमा सेतो रंग चोबेर सडकमा सेतो धर्सो पोते। मेयरपछि, उपमेयर गीता सत्याल, वडाध्यक्ष केसी र साइकल यात्रुहरुले क्रमशः रंग पोत्दै ताली बजाएर साइकल लेन उद्घाटन भएको खुसी साटे।
२०७० सालमा काठमाडौं महानगरपालिकाले तामझामसाथ माइतीघरदेखि तिनकुनेसम्म साइकल लेन उद्घाटन गरेको थियो। त्यो बेला साइकलप्रेमी र वातावरणविद्हरू यसरी नै खुसी भएका थिए। तर त्यो लेन नाम मात्रको छ।
काठमाडौं, बानेश्वरकी ३० वर्षीय सरोजा थापा चाहन्छिन्, ललितपुरको लेन काठमाडौंको जस्तो नहोस्। बीस वर्षदेखि नियमित साइकल चलाउँदै आएकी उनले दुखेसो पोखिन्, ‘माइतीघरदेखि तिनकुनेसम्म साइकल लेन त छ, तर त्यहाँ कि मान्छे हिँड्छन् कि बाइक पार्क गरिएको हुन्छ।’
अब काठमाडौंमा पनि ललितपुरकै जस्तो मुख्य सडकसँग जोडिने खालको लेन बनाउनुपर्नेमा उनले जोड दिइन्।
आज उपत्यकाका सडकहरूले थेग्न सक्नेभन्दा बढी मोटरसाइकल र गाडीहरू छन्। ती सवारी साधनले सिर्जना गरेको वायु प्रदूषण र ट्राफिक जामले यहाँका मान्छेको दैनिकी र स्वास्थ्य प्रभावित छ।
मेयर महर्जनले केही दशकअघिसम्म उपत्यका साइकलमैत्री भएको बताए। उनले भने, ‘ललितपुरमा धेरैजसो पर्यटक साइकलमै आउँथे। अहिले हाम्रै कारणले घटे। त्यसलाई फेरि पुनर्जीवन दिने प्रयास हो यो साइकल लेन।’
उनले सानोमा भोटे जात्राको समय पुल्चोकमा साइकल स्ट्यान्ड राखेर एउटा साइकल बराबर १० पैसा लिएको स्मरण गरे। भने, ‘३५० साइकलबाट ३५ रुपैयाँ उठेको थियो। त्यो पैसाले फुटबल म्याच खेलेका थियौं।’
ललितपुरलाई साइकलमैत्री सहर बनाउने अभियानअन्तर्गत यो औपचारिक उद्घाटन भएको थियो। लेन कुपन्डोलको बागमती पुलदेखि लगनखेलसम्म, लगनखेलदेखि पाटन दरबार क्षेत्रसम्म र पुल्चोकदेखि पाटन दरबार स्क्वायरसम्म जोडिनेछ।
मेयर महर्जनले छिमेकी नगरपालिकाका मेयरसँग पनि साइकल लेन निर्माण र विस्तारबारे कुरा भइरहेको बताए। ‘हामी यो लेनलाई गोदावरीसम्म जोड्छौं। त्यहाँका मेयरले गोदावरी पार्कसम्म जोड्नुहोस् भन्ने चाहन्छु,’ उनले भने, ‘उता काठमाडौं महानगरपालिकाका मेयरले बुढानिलकण्ठ र फेरि त्यहाँबाट अर्को मेयरले शिवपुरीसम्म पुर्याउनुहोस् भन्ने चाहन्छु।’
पहिलो चरणमा आर्थिक वर्ष २०७५/७६ को बजेटबाट ५० लाख रुपैयाँ छुट्याएर लेन निर्माण र विस्तार कार्यक्रम सुरु भएको थियो। यो आर्थिक वर्ष पनि ५० लाख रुपैयाँ छुट्याएर यसलाई प्राथमिकता दिइएको छ। लेन, साइकल स्ट्यान्डसँगै सुरक्षा पनि साइकल यात्रीका सरोकारका विषय हुन्। साइकल यात्रीको सुरक्षाका लागि आगामी हिउँदे अधिवेशनमा साइकल ऐन ल्याइने तयारी भइरहेको महर्जनले जानकारी दिए।
ललितपुर महानगरले लेन निर्माणका लागि नेपाल साइकल सोसाइटीलाई डिजाइन, बजेटलगायतका विषयमा खाका बनाउने जिम्मा दिएको थियो। सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठले यो अभियानलाई नागरिक समाज र स्थानीय सरकारबीचको ऐतिहासिक उपलब्धि मान्छन्।
‘ललितपुर महानगरपालिकाले जसरी अगुवाई गर्यो, अरू पालिकाहरूले पनि यसबाट सिकून्,’ उनले भने।
श्रेष्ठले माइतीघरदेखि तिनकुनेसम्मको लेन उपयोगमा आउने गरी फेरि रिडिजाइन गर्नुपर्नेमा पनि जोड दिँदै भने, 'काठमाडौं महानगरपालिकालाई रिडिजाइनसम्बन्धी प्रतिवेदन तयार गरेर बुझाइसकिएको छ।'
हङकङ विश्वविद्यालयबाट 'अर्बन डिजाइनिङ'मा स्नातकोत्तर गरेका सोमराज राना नेपाल साइकल सोसाइटीका उपाध्यक्ष हुन्।काठमाडौंमा साइकललाई कसरी बढावा दिन सकिन्छ भन्ने विषयमा थेसिस लेखेका रानाले भने, ‘साइकल यात्रीको सुरक्षाका लागि सबभन्दा पहिला साइकल लेन नै चाहिन्छ। अब लेन बनेपछि साइकलमा यात्रा गर्नेको संख्या पनि थपिन्छ।’
उनले महानगरलाई नेपाल साइकल सोसाइटीको तर्फबाट लेन निर्माण योजनासम्बन्धी प्राविधिक समूहको नेतृत्व गरिरहेका छन्।
कार्यक्रममा सहभागी विश्व साइकलयात्री पुष्कर शाह पनि यो सहरमा फेरि सरर साइकल गुडाउनेको संख्या बढेको देख्न चाहन्छन्। पाटनका २५ वर्षीया सुस्मृती तामाङ र १९ वर्षीया पवित्रा राई दैनिक कामको सिलसिलामा साइकल चढ्न रमाउँछन्। तर, साइकल चलाउँदा उनीहरु सधैं असुरक्षित महशुस गर्छन्। गन्तव्य पुग्नासाथ उनीहरुलाई हरेक पटक लाग्छ– धन्न, आज केही भएन।
आज भने उनीहरूलाई केही नयाँ भएको लागिरहेको छ। ‘ओ साइकल’ भन्दै जिस्काउने, ‘हान्दिम्’ भन्दै थर्काउने पीडाबाट अब छुटकारा पाइने हो कि भन्नेमा उनीहरू आशावादी छन्।
पवित्राले भनिन्, ‘साइकल चलाउनका लागि छुट्टै ठाउँ भयो नि त अब।’
सुस्मृतीले थपिन्, ‘निर्धक्क भएर साइकल गुडाउने आत्मविश्वास बढेको छ।’
साइकल गुडाउनु व्यक्तिगत स्वास्थ्यसँगै समाजको स्वास्थ्यका लागि पनि लाभदायक छ। यसका लागि साइकलमैत्री सडक र वातावरण चाहिन्छ। मेयर चिरिबाबुको दाबी छ, ‘यो त्यस्तै वातावरण बनाउने शुभारम्भ हो।’