पसल अगाडिको बाटोझैं व्यस्त छ टेकराज पराजुलीको दैनिकी। सिंहदरबारको पूर्वी गेट सामुन्ने धोबीखोला झर्ने सानो तर व्यस्त पिच बाटो छ। त्यही बाटोको मुखैमा दाहिनेतिर छ, उनको खाजा र खाना घर।
'मामा! दुइटा मिल्क टी...।'
'मामा! दुई ठाउँ चिउराअण्डा...।'
'मामा! एग चाउचाउ फ्राइ...।'
'एक ठाउँ भेज मःम ...।'
तीनवटा अर्डर पूरा गरेपछि चौथोमा 'मामा' भन्छन्, 'मःम बनाउँदिनँ, रोटी तरकारी खानुहुन्छ त आज?'
चिया, खाजा वा खाना जेसुकै अर्डर गर्नुपरोस्, पुराना ग्राहकले उनलाई मामा भनी सम्बोधन गरिरहेका हुन्छन्। उमेर सानो ठूलो जे होस्, उनी सबैका मामा। दुई-चार पटक जानुभयो भने तपाईं पनि 'मामा' नभनी बस्न सक्नुहुन्न।
उनको पसलको अर्को विशेषता भनेको बाहिरी भागमा सिनेमा र नाटकका पोस्टरहरू कहिल्यै टुट्दैनन्।
यहाँ केही घन्टा बिताउनुस्, पोस्टरका तिनै कलाकार तपाईंकै अगाडि झुल्किनेछन्।
'कबड्डी कबड्डी कबड्डी'का अभिनेता दयाहाङ राई वा मण्डला नाटकघरमा चलिरहेको नाटक 'महाभोज'का मुख्य कलाकार रमेश बुढाथोकी, जो पनि हुन सक्छन्। पटकथाकार सामीप्यराज तिमल्सेनादेखि निर्देशक दीपेन्द्र लामासम्म चियाको सर्को तान्दै सिनेमाका बात मारिरहेका हुन्छन्। यहाँ आउने जानेमा आज 'नोटिस' नगरिएका भविष्यका 'स्टार'हरू कति होलान् कति।
सरिता गिरी, भोलाराज सापकोटा, सृजना सुब्बा, प्रवीण खतिवडा, नाजिर हुसेनदेखि सुनील पोखरेलसम्मका रंगकर्मी–सिनेकर्मीको अखडा नै हो यो। अनुप बराल निर्देशित 'महाभोज'को रिहर्सल अवधिभर कलाकारले चियापानदेखि दैनिक 'भोज' गर्ने ठाउँ यही थियो।
कलाकारलाई सजिलै भेटिने यो पसलमा पत्रकार, लेखक र समीक्षक धाउने नै भए। नजिकैको मण्डलामा नाटक हेर्नुअघि र हेरिसकेपछि अन्य दर्शकले समेत समय काट्ने ठाउँ हो यो।
टेकराजलाई सबभन्दा पहिलोपटक मामा चाहिँ कसले भने होलान्?
मण्डलाका कलाकार रहेछन्।
'आर्जेश रेग्मीले मामाको पसल जाम् भन्दाभन्दै पालैपालो मण्डलाका सबैले मामाको चिया पसल भन्न थाले,' टेकराजले भने।
आफू र आफ्नो पसलको यही पहिचानलाई उनले हालै 'मामाको खाजा एन्ड खाना' नाममा पसल दर्ता गरेर आधिकारिक बनाएका छन्। तर सेलेब्रेटीको अखडा 'मामाको खाजा एन्ड खाना' कुनै चहकिलो भवनमा रहेको रेस्टुरेन्ट होइन। जस्ताको पाताले बारिएको सामान्य पसल हो।
दैनिक सयौं ग्राहक आउने पसलमा कुन कलाकारले कस्तो चिया, खाजा वा खाना रुचाउँछ, उनलाई सबै याद छ।
चिया, अण्डा, चना, रोटी तरकारी, आलु पराठा, चाउमिन, चाउचाउ, दही, लस्सी, मोहीदेखि खानासम्म। ग्राहकका रूचि र आवश्यकताले उनलाई व्यस्त बनाइराख्छ। बिहान ६ः३० बजेदेखि राती नौ बजेसम्म एकनासे खट्छन्।
मामाको व्यस्तताको बोझ कम गर्न उनकी श्रीमती मन्जु, दुई छोरा र भाञ्जाले निरन्तर सघाइरहेका हुन्छन्। परिवारका सबै सदस्य कामको चटारोमा हुन्छन्।
मामा टेकराज भन्छन्, 'पसलको सबभन्दा खास फाइदा व्यस्त रहनु हो। काममा व्यस्त हुँदा पैसा पनि आउने, नचाहिने कुरामा मन डुलाइराख्नु पनि नपर्ने।'
त्यसैले होला, पसलमा बढ्ने भिडले थप काम गर्ने ऊर्जा बढाउने उनी बताउँछन्।
'दिलबाट पकाएको खानेकुरा मीठो हुन्छ,' आफ्नो पाकसूत्रबारे सुनाउँछन्, 'ग्राहकलाई जे दिए पनि त्यसमा हाँसो मिसाउँदा थप स्वादिलो बन्छ।'
कुरा पनि रसिला गर्छन् उनी। कलाकारको संगतको असर परेर हो कि!
अक्सर हाँसेर बोल्छन्। उनको यही मुस्काउने कलाले ग्राहकलाई 'एकछिन एकछिन' भन्दै पाँच/दश छिनसम्मै कुराउन सक्छन्।
मामाको खाजा पसल र मण्डला नाटकघर एउटै समयमा सुरू भएको हो।
२०६८ सालमा उनी काठमाडौं आउँदा उनको कल्पनामा मेसिनमा तयार पारेको कफी, स्यान्डविच, बर्गरजस्ता खानेकुरा पाइने एउटा शानदार रेस्टुरेन्ट थियो। आफ्नो रेस्टुरेन्टमा नेपालीसँगै विदेशी ग्राहक पनि आऊन् भन्ने चाहन्थे।
यस्तै ठाउँ हेरेर एक-दुई ठाउँ त बैना पनि मारिसकेका रहेछन्। तर जुरेन।
मण्डलाको पार्किङ चउरनजिकै एउटा पसल भेटेछन्।
'शानदार रेस्टुरेन्ट खोल्ने सपना त्यागेर दुई जनाले चलाएर छोडिसकेको टहरो किनियो,' उनी सम्झन्छन्, 'तीन लाख पचहत्तर हजारमा तीन वटा टेबुल, फ्रिज र डोनट राख्ने काउन्टर भएको टहरो मात्र थियो।'
पसल थापेको सुरूको साता उनी आत्तिएछन्। के सोचेथेँ, कहाँ आइपुगेँ भनेझैं भएछ।
'दोस्रो साता ३४०० को व्यापार हुँदा खुसीले दुई हातमाथि उफ्रेर नाचेँ,' उनले थपे, 'यति भए त घरबार धानिन्छ भन्ने हिम्मत आयो।'
'लुट फिल्म भर्खरै चलेको थियो। खाली चउरमा रामबाबु गुरुङ, दयाहाङ राईहरू बसेको देख्थेँ,' पुराना सम्झना साट्छन्, 'तास खेलेर बस्ने ती मान्छे को हुन्, के काम गर्छन् भन्ने भेउ पाएको थिइनँ।'
बिस्तारै, उनले तिनै अपरिचितका लागि चिया र खाजा पुर्याउनु पर्ने भयो।
ग्राहकलाई 'भगवान' मान्ने उनी सोधिरहन्थे रे, 'चिया कस्तो लाग्यो? खाजा मिठो भयो, भएन?'
ग्राहकको सन्तुष्टिमा ध्यान दिने यही बानीले उनलाई मण्डलामा आउजाउ गर्ने कलाकार र अतिथिको नजिक बनाइदियो। समयक्रममा मण्डलाका 'गुरुशिष्य' मात्रै नभई दर्शकसमेत उनका ग्राहक बने। साढे तीन वर्षपछि उनले हालको ठाउँमा पसल सारेका हुन्, तर आज पनि उनका ग्राहकमा मण्डलासँग जोडिएका मान्छे बढी छन्।
सुरूमा चिया र चना-अण्डा पाइने पसलमा उनी अचेल खानासमेत खुवाउँछन्। यसबीचमा एकपछि अर्को परिकार थप्दै आए। पसल थापेको पहिलो साता आत्तिए पनि दोस्रो सातादेखि उनमा हिम्मत पलाएको थियो। पछिल्लो आठ वर्षमा त्यो हिम्मत अझै बलियो भएको छ।
'अहिलेकै मोलमा योभन्दा राम्रो वातावरणमा सुख र शान्तिका साथ ग्राहकले खान पाऊन् भन्ने इच्छा छ,' उनी योजना सुनाउँछन्, 'सबै कुरा मिल्यो भने पसललाई सुविधा सम्पन्न बनाउने सपना हो।'
यो त भयो उनको नयाँ सपनाको कुरा। उनको सबभन्दा ठूलो सपना त वकिल बन्ने थियो।
२०४९ सालमा एसएलसी दिएका उनी 'ल' पढ्न चाहन्थे। पहिलो वा दोस्रो श्रेणीमा पास भएका भए उच्चशिक्षाका लागि सायद काठमाडौं आउँथे।
तेस्रो श्रेणीमा पास भए। गाउँकै कुनै पढालेखा व्यक्तिले भन्दिएछन्, 'थर्ड डिभिजन पास हुनेले ल पढ्न पाउँदैनन्।' उनले पत्याए।
अर्घाखाँचीका मात्रै नभई आसपासका पाल्पा, गुल्मी र स्याङ्जाका मानिसहरू हुलका हुल बाँधेर भारतका पञ्जाब र उत्तरप्रदेशतिर काम गर्न जान्थे। उनी पनि त्यही हुलमा मिसिए। त्यस बेला भर्खरै १६ वर्षका थिए।
केटौले जोस सम्झँदै भन्छन्, 'मुडी मान्छे म। आ... वकिल बन्न नपाए पैसा कमाउन इन्डिया जान्छु भनेर हिँडियो। पढ्न छोडेर वेटरगिरी गरियो।'
नेपालमा बिताएको भन्दा एक वर्ष बढी समय बिताएर ३३ वर्षको उमेरमा उनी आफ्नै देश फर्किए। १७ वर्षे भारत बसाइको धेरै समय ढावा र रेस्टुरेन्टहरूमा बित्यो।
उनी सुनाउँछन्, 'पञ्जाबको मलेरकोटलामा मूलपानी ढावामा हेल्पर वेटरका रुपमा काम सुरू गरेँ। तीन सय रुपैयाँ तनखा थियो।'
हेल्पर वेटरबाट काम थालेका उनी कालान्तरमा 'फुड एन्ड वेभरेज म्यानेजर'सम्म भए। तर यो यात्रा सरल थिएन।
उनी 'साँच्चिकै' मुडी रहेछन्। कहीँ चार दिन, कहीँ एक महिना, कहीँ दुई महिना, कहीँ केही वर्ष काम गर्दै–छोड्दै हिँड्थे।
जोड दिँदै भन्छन्, 'यो मेरो एकाइसवा काम हो।' तीमध्ये बीस ठाउँ भारतमै काम गरे उनले।
किन त?
'मनमौजी भएर जो। मन लागुन्जेल काम गर्यो, नत्र छोड्दियो,' सहज जवाफ दिँदै प्रतिप्रश्न पनि गर्छन्, 'कि कसो?'
१७ वर्षमध्ये उनको सात वर्ष पञ्जाब, लुधियानाको 'लोधी क्लब'मै बित्यो। यहीँ काम गर्दा २०५५ सालमा नेपाल आएर बिहे गरे। पञ्जाब छँदा जलन्धरको साढे छ सय जनाले काम गर्ने 'हवेली ट्रेडिसनल भेज ढावा'मा पनि काम गरे।
यसबाहेक उत्तर प्रदेश गजरौलाको एउटा ढावामा साढे छ वर्ष बिताएका उनलाई यहीँ काम गर्ने क्रममा कसैले डलर कमाउने सपना देखाइदिएछ। उनी पनि लोभिए।
'अमेरिकन फौजीको क्याटरिङमा सात सय डलर पाइने कुकको जागिर पाइने भन्दै अफगानिस्तान गइयो। करोडपति बनौंला भनेर गएको चार लाख ऋण लाग्यो। रोडपति बनेर फर्किएँ।'
यो घटनापछि पैसा कमाउने सपनाको मोहभंग भएको सकार्दै भन्छन्, 'पैसाको पछि भागेर कहीँ पुगिन्न भन्ने लाग्यो। आफ्नै देश, आफ्नै परिवारमाझ फर्किएँ।'
जहाँ गए पनि फेरि कलाकार र निर्देशकसँगै ठोक्किने रहेछन् उनी।
बलिउडका सेलिब्रेटीसँगको जम्काभेट सुनाउँछन्, 'लुधियानामा हुँदा मैले काम गरेको ठाउँमा विदेशीदेखि बलिउडका कलाकारसम्म ग्राहक हुन्थे। जिम कोर्बेट पार्कमा बाघ हेर्ने, जम्मु वा नैनीताल घुम्ने पर्यटकले बास बस्ने ठाउँ थियो त्यो।'
ती कलाकारमध्ये नेहा धुपिया, अजय देवगण, चन्द्रचुड सिंहबाहेक अरूको नामसमेत भुलिसकेका छन् उनले। भन्छन्, 'कलाकार वा निर्देशकहरू मलाई विशेष लाग्थ्यो। उनीहरूको सेवा गर्न पाउँदा खुसी लाग्थ्यो।'
काठमाडौं आएपछि पनि उनी त्यही 'विशेष मान्छे'हरूका माझ छन्। उनी सोध्छन्, 'कस्तो संयोग है?'
कलाकारको 'सेवा'मा रमाएका उनी मण्डलामा मञ्चन हुने नाटकका नियमित दर्शक पनि हुन्। पहिलो नाटक 'सुनकेसरी'देखि हालैको 'महाभोज'सम्म हेरिसकेका छन्। छुटाएका केही नाटकमध्ये 'लाटीकी छोरी' हेर्न नजुरेकोमा अझै चुकचुकाउँछन्।
उनलाई मन परेको नाटकको नाम सोध्दा भन्छन्, 'सबै मनपर्छ।' सबै मनपर्नुका कारण यस्तो छ, 'सबैले मिहेनत गरेर नाटक बन्छ भनेर देखेको छु जो।'
चियाखाजा बेच्दै कलासंसारको किनारबाटै भए पनि साक्षी बस्न पाउँदा उनलाई रमाइलो लाग्छ। यो दुनियाँमा रमाउन हरेक मान्छेसँग आफ्नै बहाना छन्।
उनी भन्छन्, 'रमाउन धेरै कमाउनु पर्छ भन्ने छैन। कति कमाउँदा मान्छे सुखी हुन्छ भन्न गाह्रो पनि त छ।'
ग्राहकको सन्तुष्टि नै 'मामा'को सन्तुष्टिको स्रोत हो।
उनी भन्छन्, 'आजसम्म ग्राहकले रेख लाएका छैनन्। न त पकाएको खानेकुरा नै फाल्नुपरेको छ।'
यो सारा कुराभन्दा पर उनलाई सन्तोष दिने अर्को विशेष कुरा छ।
उनी गोप्य कुरा खुलाएझैं भन्छन्, 'आज पनि ८० वर्षे आमाबुबाले घरमै बनाएर पठाइदिएको घ्यूसँग भात खाइरहेको छु।'
दैनिक पन्ध्र घन्टा खट्नसक्ने उनको क्षमताको स्रोत आमाबाको माया पो रहेछ !
अल्लारे उमेरमा भारत गएका उनी नेपाल फर्कंदा पाको भइसकेका थिए। यो लामो अवधिमा दिनरात गरेर काम गरे पनि, उनी यसलाई संघर्ष भन्न चाहँदैनन्।
'संघर्षभन्दा पनि रमाइलो गरियो के रे। कमाइयो, खाइयो, दुनियाँ जो देखियो,' पश्चिमी लवजमा भन्छन्।
आज ४३ वर्षको उमेरमा पनि उनी कामलाई रमाइलोकै रुपमा लिँदै ठट्टा गर्छन्, 'भारतमा नेहा धुपियालाई खुवाउने अवसर पाएँ, यहाँ दिया मास्केलाई खुवाउन पाएको छु। भएन त रमाइलो!'
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी