महिलाले कथा लेख्दैनन्।
सानो छँदा आन्विका गिरीलाई यस्तै लाग्थ्यो। उनले पढेका सबै कथा लेख्नेहरू पुरुष नै थिए।
सात/आठ कक्षा पुगेपछि बल्ल पाठ्यक्रममा पहिलो पटक महिला लेखिका देवकुमारी थापाको कथा पढ्न पाइन्। उनको बुझाइ फेरियो।
उनलाई लाग्यो रे, 'ए, महिला पनि कथा लेख्दा रहेछन्।'
सानैदेखि कथा भनेपछि हुरुक्कै हुन्थिन्। त्यसैले उनले लेखेको पहिलो किताब 'कम्युनिष्ट' कथा संग्रह हुनु कुनै संयोग होइन। या उनको कथा विधाप्रतिको लगाव हो।
कथा हुँदै उपन्यास लेखनको अनभुव बटुलिसकेकी उनी पछिल्लो समय बालकथा लेखनमा सक्रिय छिन्। यसले उनको कथाप्रतिको आशक्ति झनै उजागर भइरहेको छ।
बिहीबार बालबालिकाका लागि लेखिएका दुई किताब 'आमाले सक्नुहुन्छ' र 'सानीका ज्ञानी कुरा' सार्वजनिक भए।
बाल्यकालमा आफ्नो उमेर सुहाउँदा कथा भरमार पढ्न पाएर आज भकाभक बालकथा लेखेकी होइनन् उनले।
खेदसहित भन्छिन्, 'बाल्यकाल त ठूलो उमेर समूहका लागि लेखिएका कथा पढेरै बिताइएछ।'
कथाले हिरिक्कै पार्ने उनलाई निबन्धमा मन बस्थेन। मन परोस्, नपरोस् आफ्नो कक्षाबाहेक दिदीबहिनीका पाठ्यक्रमका सबै कथा भ्याउँथिन्।
सम्झिन्छिन्, 'हामी पाँच दिदीबहिनी र दुई दाजुभाइले जाँगर चल्दा र अल्छी लाग्दा समेत घरमा दोषी चश्मा र नासो धेरै पटक पढेका किताब हुन्।'
सानैदेखि हक्की उनलाई साथीसंगीको हुलमा सबभन्दा अगाडि हुनुपर्थ्यो। विद्यालयका हरेक गतिविधिमा अब्बल देखिन चाहन्थिन्। त्यही भएर विद्यालयको बाकसवाला पुस्तकालयमा उनको पहुँच भयो।
बालसाहित्य लेख्न थालेपछि सबभन्दा पहिले उनले आफ्नै अतीत फर्केर हेरिन्। त्यहाँ उनले डर, धक वा संकोचविहीन फुच्ची आन्विका देखिन्। आफूजस्तै केही आँटिला केटी साथी र आफन्त भेटिन्। तर अहँ, आफूले पढ्ने नेपाली बालसाहित्यमा ती पात्र भेटिएनन्।
केटाकेटी बेला उनले पढ्ने किताबमा पनि महिलाको चित्रण कमजोर पाउँथिन्। म्याक्सिम गोर्कीको 'आमा' पढेपछि भने आफूले खोजेजस्तै सशक्त महिला चरित्र भेट्टाइन्। नेपाली अनुवाद पढेकाले लामो समय 'रुसी आमा'लाई 'नेपाली आमा' मानेरै रमाएकी थिइन् उनी।
गोर्कीरचित आदर्श आमाको विम्ब कुँदेर हुर्केकी आन्विका एक दिन आफैं आमा बन्ने दिन आयो। कथा पढेर रमाउने आन्विका छोरीलाई कथा सुनाएर रमाउन थालिन्।
छोरी अवनीले पनि भन्न थालिन्, 'आमा! कथा सुनाउनु न!'
समय खुड्किला चढ्दै आज अवनी आफ्नी आमालाई कथा पढेर सुनाउने भइसकिन्। दुवै जनालाई एकअर्कालाई कथा भन्ने–सुन्ने लत छ।
अवनी छ कक्षामा पढ्छिन्।
आमाछोरीको सम्बन्ध बुझाउन खोज्छिन् आन्विका, 'उनी पाँचमा पढ्दासम्म म उनको अभिभावक थिएँ। अहिले हाम्रो सम्बन्ध सबै कुरा साट्ने साथीजस्तै छ।'
कथा सुन्ने-सुनाउने क्रममा आन्विकाले अवनी र अंग्रेजी माध्यममा पढ्ने उनीजस्तै धेरैको नेपाली कमजोर भएको गम्भीर मनन गर्न थालिन्। आन्विकालाई अवनीले अंग्रेजी कथा आफैं पढेर सुनाउँथिन्। नेपाली कथा पढ्ने बेला भने आमालाई गुहार्थिन्।
साहित्यकार आमाकै छोरी नेपाली भाषाबाट तर्सिनु स्वभाविक पनि थिएन। छोरीलाई नेपालीमा रूचि जगाउने राम्रा कथाको खोजीमा लागिन्। यही खोजमा डा. सरोज धितालको अनुवादमा 'तात्तो चान' फेला पर्यो।
'हामी दुवैलाई मन परेकोले यो किताब धेरै पटक पढ्यौं,' तात्तो चानको तारिफपछि खिन्नता जनाइन्, 'तर केटाकेटीका लागि नेपाली भाषामा यस्ता किताब एक-दुई-तीन गन्दागन्दै सकिन्छ।'
पछिल्लो समय बाल साहित्यमा केन्द्रित आफ्नो लेखन यस्तै रिक्तताको खाडल टालटुल गर्ने प्रयासका रुपमा लिन्छिन् उनी।
दायित्वबोध गर्दै भन्छिन्, 'लेखक भएकाले अरूसँग गुनासो गर्नुभन्दा आफैं लेख्ने प्रयास गर्दैछु। बालसाहित्यमा राम्रो काम गर्न सकेँ भने गुनासो गर्ने छुट पाइएला।'
अनुसन्धाताहरूले 'गोर्खा पैह्ला' (प्रथम भाग)लाई नेपाली भाषामा प्रकाशित पहिलो किताब मानेका छन्। १९४९ सालमा प्रकाशित यसका लेखक गंगाधर द्रविण हुन्। त्यसपछि जय पृथ्वीवहादुर सिंह, चक्रपाणी चालिसे, माधवप्रसाद घिमिरे, लक्ष्मीप्रसाद देवकोटाजस्ता दिग्गजहरूले यो विधा दौडाए।
देवकुमारी थापा, रमेश विकल, शान्तदास मानन्धर, कृष्णप्रसाद पराजुली, विनय कसजु, खगेन्द्र संग्रौलादेखि भवसागर घिमिरेसम्मले हिँडेको यो विधामा नयाँ लेखक संख्या बढिरहेकै छ।
तै पनि आन्विका असन्तुष्ट किन?
'बाल साहित्यमा सांस्कृतिक सन्दर्भ नै आउँदैन। कथा र पात्र गाउँ वा सहरको भन्ने मात्रै छुट्टिन्छ। हिमाल, पहाड र तराईका हरेक गाउँ र सहरका कथामा केही फरक त होला नि!'
'बालबालिकाले साहित्यमा हाम्रो समाजको वास्तविकता देखिरहेका, पढिरहेका छैनन्,' अर्को कमजोरी थप्छिन्, 'लैंगिक पाटोबाटभन्दा हाम्रो बालसाहित्य पुरुषद्वारा पुरुषकै लागि भन्न मिल्छ।'
उनको नयाँ किताब 'सानीका ज्ञानी कुरा' बाल यौन दुर्व्यवहार बुझाउने सचित्र बालपुस्तक हो। यो किताब आफूले निर्मला पन्त, माया विकहरू जस्ताको एकपछि अर्को बलात्कार र हत्याको भइरहेको सन्दर्भमा 'गुड टच' र 'ब्याड टच'को फरक बुझाउन लेखेको बताउँछिन् उनी।
'आमाले सक्नुहुन्छ', शीर्षक बोलेझैं लैंगिक रुपमा आमाभन्दा बुबा बलियो भन्ने भ्रम तोड्ने सात वटा सिलसिलाबद्ध कथाको संग्रह हो।
आन्विकाका लागि लेखन भावनात्मक कर्म नभएर सचेत बौद्धिक हस्तक्षेप हो। सानैमा बाल अधिकार समूहको नेतृत्व अनुभव बोकेकी उनले २०६१ सालदेखि 'हाम्रा कुरा पनि सुन्नुस्!' शीर्षकमा बालबालिकाका विषयमा लेख्न थालेकी हुन्।
सानो उमेरका पाठकका लागि लेख्नुमा के फरक रहेछ त?
'वयस्कका लागि लेख्दै गरेको एउटा नयाँ कथामा मैले मूल पात्रका बुबालाई नेगेटिभ देखाएको छु। तर आमाले सक्नुहुन्छमा बुबालाई सहयोगी मान्छेका रुपमा चित्रण गरिएको छ,' तुलना गर्दै स्पष्ट पारिन्, 'केटाकेटीका लागि बुबालाई नेगेटिभ देखाउन हुन्न भन्ने लाग्यो। फरक यही हो।'
आन्विकाको पुस्ता सही र गलतको तुलना गर्दै 'जजमेन्टल' बनेर हुर्कियो। उनी चाहन्छिन्, अवनीको पुस्ताले सही-गलत आफैं निर्क्यौल गरून्।
बालबालिकामा नकारात्मक प्रभाव नपरोस् भनेर बढी संवेदनशील हुनुपर्ने उनी बताउँछिन्। उनको अनुभवले भन्छ, 'भाषा, शब्द, विषयको संवेदनशीलता, हरेक कुरामा विशेष ध्यान दिनुपर्छ।'
उनले आफ्नै छोरीको संगतबाट निकालेको निष्कर्ष छ, 'बालबालिकाले उनीहरूकै दृष्टिकोणबाट लेखिएको कुरा पढ्न मन पराउँदा रहेछन्। त्यस्तो कथामा उनीहरूले आफैंलाई खोज्छन् र भेट्छन् पनि।'
प्रकाशनका हिसाबले पनि बालबालिकाका किताबको प्रक्रिया अलि लामो हुने अनुभव सँगालेकी छन्। बालसाहित्यमा चित्र बढी प्रयोग हुने भएकाले अरूमा निर्भर हुनुपर्छ। केटाकेटी सुहाउँदो भाषाका लागि सम्पादकको सुझाव लिनैपर्यो।
पाँच वटा बालसाहित्य लेखिसकेपछि अब आन्विका यो क्षेत्रका कमीकमजोरी र समस्याबारे 'अथेन्टिक' रुपमा बोल्न सक्ने भएकी छन्।
'बाल साहित्यको बजार सानो छ। लेखकहरू यसलाई फटाफट लेख्ने काम ठान्छन्,' उनी भन्छिन्, 'बालसाहित्य लेख्नेहरूमै पनि कम महत्वको काम गरिरहेको हिनताबोध भेटिन्छ।'
व्यक्तिगत र संस्थागत प्रयासमा मात्र 'तोत्तो चान'जस्ता किताब अनुवाद हुनु उनलाई अपुग लाग्छ। जोड दिँदै भन्छिन्, 'राज्यले विश्वसाहित्यका राम्रा किताब सरल भाषामा अनुवाद गर्दा अंग्रेजी कमजोर भएका सरकारी विद्यालयका विद्यार्थीलाई विशेष फाइदा हुने थियो। अरूले पनि यसको लाभ लिने थिए।'
छोरीका लागि राम्रा किताब खोज्दा-खोज्दै बालसाहित्य लेखनमा डुबेकी हुन् आन्विका।
'आन्टी! हजुरको कथा पढेँ, मनपर्यो,' छोरीका साथीहरूले यस्तो भनेको सुन्दा रमाइलो लाग्छ उनलाई।
आन्विकाको बाल साहित्य लेखनयात्रामा छोरीको आगमन, संगत र आवश्यकताको मुख्य भूमिका छ।
छोरीलाई चिनाउँदै भन्छिन्, 'उनी डेन्जर छिन्। मेरो पहिलो पाठक। आलोचना गर्नुपर्दा आमालाई नराम्रो लाग्ला भनेर चुप बस्दिनन्।'
आन्विकाको कुरा सुन्दा लाग्छ, ११ वर्षकी अवनी आफ्नो उमेरभन्दा धेरै अगाडि बढिसकिन्।
एकपटक त अवनीले भनिछन्, 'आमा तपाईं अलि बढी जेन्डर सेन्सेटिभ हुनुभयो।'
पछि आन्विकाले किताबका पाना पल्टाउँदै महिला पात्र र पुरुष पात्रको चित्रणबीच अन्तर देखाएपछि बल्ल आमा संवेदनशील भएको कुरा सही लागेछ उनलाई।
अवनी आमालाई बेलाबेला फुर्काउछिन् पनि, 'आम्मा! मेरो आमा त वर्ल्ड फेमस राइटर।'
आन्विकाको चाहना छ, बच्चाहरूले यसरी नै आफ्नो धारणा बनाऊन् र आवश्यक परे सच्याऊन्।
बालसाहित्यमा आफूजस्तै रचनात्मक गुनासो गर्ने लेखक संख्या बढोस्। तिनमा पनि महिला धेरै होऊन्। र, उनलेभन्दा राम्रा बालसाहित्य लेखून्।
र, अवनीका पुस्ताले भनून्-
'आमाले लेख्नुहुन्छ।'
'आमाले सक्नुहुन्छ।'
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी