कुलेश्वरस्थित गणेश मन्दिरबाट पूर्वतिर सोझिएपछि बागमती नदी किनार पुगिन्छ। किनारैमा छ, बल्खु फलफूल थोक बजार। तर फलफूल बजार होइन, 'फोहोर बजार' जस्तो देखिन्छ। जताततै कुहिएका फलफूल, पराल, बोक्रा र प्लास्टिकका झोला-बोराले भरिपूर्ण। छाडा चौपायाको भिड यहीँ। मान्छे र गाडी पनि यहीँ।
बागमती किनारको यो बजार काठमाडौंकै ठूलो फलफूल थोक बिक्री केन्द्र हो। यहाँ दैनिक सयौं किलो फलफूल साना तथा ठूला ट्रकमा ओसारपसार हुन्छ। केही समयअघि भारतबाट आयातित फलफूलमा विषादीको कुरा उठेको थियो। बल्खुको यो बजार हेर्दा लाग्छ, यहाँका फलफूलमा विषादीभन्दा बढी फोहोर मिसिएको छ। गन्धले नै फलफूल विषाक्त बनाइरहेको भान हुन्छ।
मान्छे स्वस्थ्य रहन फलफूल खान खोज्छन्। यहाँको दृश्य हेर्दा उल्टै बिरामी परिएला जस्तो छ।
फलफूलको थोक बिक्री केन्द्रबाट दक्षिणतिर जाने कच्ची सडक छ। दुर्गन्ध र हिलोले भरिएको। खुट्टा टेक्ने सग्लो ठाउँ छैन।
छेवैमा पसल चलाउँदै आएका एक युवाले दिक्क मान्दै भने, 'हिँउदमा त यस्तै गजगजी हिलो हुन्छ, झन् अहिले त वर्षायाम छ।'
बाटो छिचोल्नै मुस्किल छ। त्यही छेउमा कुलेश्वर माध्यमिक विद्यालय पनि छ। स्कुलमा पढ्ने नानीबाबुको आउजाउ गर्ने एकमात्र बाटो पनि यही हो। घुँडासम्म आइपुग्ने हिलो नटेकी उनीहरू विद्यालय भित्र पस्न सक्दैनन्। कहिले चिप्लिएर पछारिन्छन्। गन्धबारे त विचरा सोच्नै नपाउँदा हुन्!
फलफूल व्यवसायी संघले बाटो बनाउन सम्बन्धित निकायमा पटक-पटक ध्यानाकर्षण गराइसकेको छ। तर पनि सम्बन्धित निकायले चासो नदिएको गुनासो गर्छन् संघका अध्यक्ष अम्मर बानियाँ।
'हामी धेरै पटक गयौं। फोहोर व्यवस्थापन, सडक निर्माण सबै कुरा पनि भयो,' बानियाँले भने 'भोलिबाटै काम सुरू गर्ने सम्झौता गरेर हामी फर्कन्छौं। तर आज होला कि भन्दै समय बित्छ। काम सुरू हुँदैन।'
अन्य समयमा भन्दा वर्षातमा फोहोर बढी हुन्छ। कच्ची सडक सुधारमा मात्रै संघले गत वर्ष १४ लाख र अहिले ६ लाख खर्च गरेको बानियाँको दावी छ।
'यो ठाउँ नै फोहोरको दलदल हो। आज एक गाडी ढुंगा बिछ्यायो, १५ दिनमा कहाँ पुग्छ थाहा हुँदैन,' उनले भने 'यहाँ विशेष किसिमले काम गर्नुपर्छ। निजी लगानीमा त सम्भवै छैन।'
केही समय अघि सडक विभागले यो बाटो सुधार्न काम सुरू गयो। तर करिडोरको बाटो पर्ने भन्दै आयोजनाले दावी गरेर काम रोकिएको उनले जानकारी दिए।
'एउटा निकायले काम सुरू गर्न नपाउँदै अर्को निकाय बाधा ल्याउन वा भत्काउन उद्दत देखिन्छ,' उनले भने।
नागरिकले प्रयोग गर्ने फलफूलमा राज्यले लापरवाही गरिरहेको छ। हाम्रो घर-भान्सादेखि अस्पतालका क्याबिन र रेस्टुरेन्टसम्म पुग्ने अधिकांश फलफूल यहीँबाट जान्छ। तर सरसफाइ र भण्डारण व्यवस्था नहुँदा फोहोरमा राखिएका फलफूल खान हामी बाध्य छाैं। दुर्गन्धित र फोहोरी भुइँमा छरिएका फलफूलले हाम्रो स्वास्थ्यमा कति असर पुर्याउला!
'यहाँ यति धेरै फोहोरमा फलफूल राख्न परेको छ,' व्यापारी श्रीनारायण यादव भन्छन्, 'हामीले यो फोहोर व्यवस्थापनको प्रयासै नगरेको होइन। तर सरकारको मद्दतबिना नहुने रैछ।'
उनका अनुसार यहाँको कुहिने फोहोर संकलन गर्न व्यापारीकै तर्फबाट निजी कम्पनीलाई जिम्मा पनि दिइएको हो। व्यापारीबाट संकलन गरेर मासिक दुई लाख रूपैयाँ कम्पनीलाई बुझाएका पनि थिए। तर फोहोर फ्याँक्ने ठाउँ बन्दोबस्त नहुँदा काम रोकिएको थियो।
'हामी व्यापारीले मात्र गरेर यहाँको व्यवस्थापन सम्भव नै छैन। जति कर लागे पनि तिर्न तयार छौं। कर अनुसारको सेवा सुविधा चाहियो,' व्यापारीहरू भन्छन्।
टंकेश्वरबाट ०४८ सालमा सुरू भएको यो बजार क्षेत्र तीन दशकसम्म पनि पूर्ण व्यवस्थित बन्न सकेको छैन।