पछिल्लो चार महिनामा नेपाल प्रहरीका पाँच सय जना कारबाहीमा परेका छन्। कारबाही पर्नेमा बरिष्ठ प्रहरी उपरीक्षकदेखि कार्यालय सहयोगीसम्म छन्।
प्रहरी प्रधान कार्यालयले नियमावली विपरित काम गर्ने ४ सय ९४ जना प्रहरीलाई कारबाही गरिएको जानकारी दिएको छ।
कार्यालयका अनुसार वैशाखमा २ जना बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहित १ सय ६५ जना कारबाहीमा परेका थिए। ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा एसएसपी दिवेश लोहनी र एसएसपी श्याम खत्री निलम्बनमा परेका थिए। संगठनको नीतिविपरित कार्य गरेको भेटिएपछि मुख्यालयले वैशाखमा ४ प्रहरी कर्मचारीलाई बर्खास्त गरेको थियो। त्यसैगरी विभिन्न दर्जाका ७५ प्रहरीलाई नसिहत दिइएको थियो। १२ को ग्रेड रोक्का, ९ को ग्रेड घटुवा, ९ को पदोन्नति रोक्का, एक जनाको पद घटुव र २२ जनालाई निलम्बन गरिएको थियो।
जेठमा ३६ जना प्रहरीलाई कारबाही गरिएको छ। असारमा १ सय ६५ जना प्रहरी कारबाहीमा परेका छन्। तीमध्ये १४ जना निलम्बनमा परेका छन् भने बाँकीलाई कसुर अनुसारको कारबाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
साउनमा पनि १ सय २९ जना प्रहरीलाई विभिन्न कारबाही गरिएको छ। प्रहरी नियमावली विपरित काम गर्ने र नियमित कार्यमा ध्यान नदिने प्रहरीलाई कारबाही गरिएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले बताए।
‘संगठनको नीति–नियमभन्दा बाहिर जाने जोसुकैलाई पनि नछाड्नू भन्ने आइजीसाबको स्पष्ट निर्देशन छ,’ प्रवक्ता थापा क्षेत्रीले भने।
महानिरीक्षक नियुक्त भएपछि सर्वेन्द्र खनालले संगठन सुधारका लागि १० बुँदे योजना सार्वजनिक गरेका थिए।
‘ती योजना प्रत्येक प्रहरी कार्यालयका भित्तामा छन्,’ प्रवक्ता थापा क्षेत्रीले भने, ‘प्रहरीको सेवा खोज्दै आएकालाई न्यायसम्मत तरिकाले सम्बोधन गर्नू, त्यसो नगरे कारबाहीको भागेदार हुनुपर्छ भन्दै केन्द्रदेखि जिल्लासम्म सर्कुलर गरिएको छ।’
यही अवधिमा प्रधान कार्यालयले राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत पनि गरेको छ। ४ महिनामा १ हजार ३ सय ५३ जना प्रहरी पुरस्कृत भएका छन्।
‘राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई कारबाही गर्ने आइजीसाबकोे नीति छ,’ प्रवक्ता थापा क्षेत्रीले भने, ‘संगठनको भलो सम्झेर काम गर्ने प्रहरीलाई पुरस्कृत गरेका छौं, यत्रो ठूलो संगठनमा खराब आचरणका केही मानिस हुन सक्छन्, त्यस्तालाई पहिचान गरेर कारबाही गर्दै आएका छौं।’
यी पनि पढ्नुस्: