रौतहटको सदमुकाम गौरमा रहेको जिल्ला अस्पतालमा औषधि अभाव हुन थालेको छ।
५० शय्याको उक्त अस्पतालमा उपचार गर्न आएका बिरामी सेवा सुविधा नपाएको भन्दै गुनासो गर्न थालेका छन्।
अस्पतालमा विगत एक महिनादेखि रेबिजको भ्याक्सिङ अभाव भएको छ। भ्याक्सिन नभएकाले सेवा बन्द गरिएको सुचना लेखेर अस्पताल प्रशासनले भित्तामा टाँसेको छ ।
सरकारले नि: शुल्क उपलब्ध गराउने औषधिहरूको पनि अभाव छ। ७० प्रकारको औषधि नि:शुल्क पाइने बताएपछि करिब ३० प्रकारको मात्रै औषधि उपलब्ध रहेको अस्पताल प्रमुख डा. कृष्णा साहका अनुसार औषधि किन्नका लागि रकम छैन। ल्याबलाई चाहिने सामग्रीहरू समेत अभाव छ।
उपचारका लागि आएका बिरामीहरू अन्यत्र जानु पर्ने बाध्यता छ ।
अस्पतालको फार्मेसीमा औषधि नभएकाले निजी औषधी पसलहरूमा बिरामीहरूले औषधि किन्दै आएका छन्। अस्पतालमा ल्याब सञ्चालन नहुँदा बिरामीहरूलाई निजी ल्याबमा जानका लागि चिकित्सकहरूले सल्लाह दिँदै आएका छन्।
अस्पतालको आन्तरिक स्रोतबाट भएको आम्दानी अस्पताल व्यवस्थापन समितिले राखेका कर्मचारीको तलबमा खर्च हुने हुँदा अन्य सामग्री खरिद गर्न नसकिएको समेत प्रमुख डा.साहको भनाइ छ।
अस्पतालमा एक जना पनि विशेषज्ञ चिकित्सक छैनन्। ९ जना विशेषज्ञको दरबन्दी रहेको अस्पतालमा मेडिकल अफिसर ४ डेन्टल सर्जन १ जनाको दरबन्दी रहेपनि सबै छात्रवृत्ति र करार सेवामा छन्। ६ जना स्टाफ नर्सको दरबन्दीमा एकजना छन्। अस्पतालको ल्याब टेक्निसियन ३ जनाको दरबन्दी रहेपनि १ जना मात्र छन्। अस्पतालका पूर्वाधारहरू पनि जीर्ण अवस्थामा रहेका छन्।
अस्पताल वरपर दुर्गन्ध फैलिएको छ। शौचालय महिनौंदेखि सफा नगर्दा बिरामी तथा कुरुवाहरू जान सक्नै अवस्था छैन। खानेपानीको धारा वरपर दुर्गन्ध फैलिएको छ। अस्पतालले लामो समयदेखि सञ्चालन गरेको एम्बुलेन्स सेवा बन्द अवस्थामा छ।
मर्मत गर्न धेरै खर्च लाग्ने भएकाले महिना अघिदेखि एम्बुलेन्स थन्किएको हो। अस्पताल परिसरमा सञ्चालन गरिएको चमेनागृह र औषधि पसलको भाडा कसले कति लिने गरेको छ? रेकर्ड छैन।
औषधि पसल, चमेना गृह सञ्चालनमका लागि केही वर्षअघि सम्झौता भएको र बाढीले कागजपत्र नष्ट गरेकाले सम्झौतामा भाडा कति हो? भन्ने नै अस्पताल प्रशासनलाई जानकारी छैन।