राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ।
परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डका प्रवक्ता तथा उपनियन्त्रक जयन्ती सत्यालले जानकारी दिए। बोर्डले गत वर्ष ९९२ वटा परीक्षा केन्द्र निर्धारण गरेकामा यस वर्ष भने ५७ वटा परीक्षा केन्द्र थप गरेको छ।
आगामी वैशाख १४ गतेदेखि सुरू हुने कक्षा १२ को परीक्षा ३० गते सम्पन्न हुनेछ भने वैशाख ३१ गतेदेखि कक्षा ११ को परीक्षा सुरू हुनेछ। परीक्षामा देशभरबाट नौ लाखभन्दा बढी विद्यार्थीको सहभागिता रहने बोर्डले जानकारी दिएको छ।
त्यसैगरी, बोर्डले मंगलबारदेखि परीक्षाको प्रश्नपत्र छपाइ सुरू गरेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा गोप्य प्रेसमा कक्षा ११ र १२ को प्रश्नपत्र छपाइ सुरू भएको बोर्डकी प्रवक्ता सत्यालले जानकारी दिए।रासस