दिक्तेलबाट खार्मीसम्म नियमित बस सेवा सुरू भएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा खोटाङ यातायात व्यवसायी संघले आइतबारबाट नियमित बस सेवा सुरू गरेको हो।
सडक मर्मत उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा खार्मीका स्थानीयवासीले बस र चालकलाई फूलमाला र अबिरले स्वागत गरेका थिए। दिक्तेलबाट १५ किलोमिटर टाढा पर्ने खार्मीका लागि नियमित बस सेवा जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले उद्घाटन गरेका हुन्।
करिब आठ वर्षपहिले निर्माण गरिएको दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडकको खार्मीसम्म मर्मत गरेपछि नियमित बस सेवा सुरू गरिएको मर्मत उपभोक्ता समितिका अध्यक्ष श्यामकुमार राईले जानकारी दिए। सडक मर्मतका लागि यस वर्ष नगरपालिकाले ४० लाख रुपैयाँ रकम छुट्याएको थियो। करिब चार घण्टा पैदल यात्रा गरेर पुगिने खार्मीमा दिक्तेल–खार्मी नियमित बस सेवा सुरू भएपछि स्थानीयवासी हर्षित भएका छन्।
दिक्तेल–खार्मी बस सेवा सुरू भएपछि खार्मीसँगै पाथेका, बास्पानी, बाक्सिला, सप्तेश्वर, सुङ्देल, दिप्सुङ लगायतका स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ। नगरपालिकाको १५ वटा वडामध्ये खार्मीमा सबैभन्दापछि यातायात सेवा सुरू भएको हो।