खानी तथा भूगर्व विभागले मुलुकका विभिन्न सात क्षेत्रमा खानीको भौगर्भिक अध्ययन गर्ने भएको छ ।
लामो समयदेखि खानीको अध्ययन र उत्खनन गर्दै आएको विभागले मुलुकको विभिन्न क्षेत्र गरी सात चरणमा गरिने उक्त भौगर्भिक अध्ययनका लागि तीन करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
पहिलो चरणमा अछाम, बझाङ, कालिकोट र बाजुरा, दोस्रोमा रुकुम, रोल्पा, प्यूठान र बागलुङ, तेस्रोमा सल्यान र रोल्पा, चौंथोमा अछाम, दैलेख र कालिकोट, पाँचौमा रोल्पा, छैटौंमा बझाङ, बैतडी र दार्चुला तथा सातौं चरणमा नुवाकोट धादिङ र गोरखाको भौगर्भिक अध्ययन गर्न भएको छ।
विभागका सूचना अधिकारी कृष्णदेव झाले आशयपत्र छनोट भइसकेकाले चाँडो अध्ययनका लागि कर्मचारी खटाइने बताए।
‘अध्ययनपछि धातु र अधातु के/के छ भनेर अध्ययन गर्छौं र धातु भए उत्खननका लागि कम्पनीलाई जिम्मा दिन्छौँ’– उनले भने।
विभागले हाल मकवानपुरको किटभञ्याङमा फलामखानी, मकवानपुरकै नामटारमा चुनढुंगा तथा कान्द्राङगडी धादिङमा चुनढुंगा उत्खनन गरिरहेको छ। रासस