वीरेन्द्रनगर वडा नम्बर २ मास्थित बराहताल जाने सडकमा करिब ६ वर्षअघि मात्र बनेको पक्की पुल जीर्ण बनेको छ। तीन महिना अघि मात्र उक्त पुलका दुवै छेउमा भ्वाङ परेका छन्।
जिल्ला विकास समितिको बजेटमा ठेक्कामार्फत निर्माण गरिएको उक्त पुल ६ वर्ष नपुग्दै भत्किएको छ। नगरपालिकाभित्र नै पुलको अवस्था यस्तो देखिएपछि वीरेन्द्रनगर नगरपालिकाको आग्रहमा सडक डिभिजन कार्यालय सुर्खेतले उक्त पुलको पुनर्निर्माणका लागि ठेक्का आह्वान समेत गरेको छ।
जीर्ण बनेको पुल पुनर्निर्माण नहुँदा स्थानीयहरूले धेरै दुःख भोग्नुपरेको स्थानीय रमेश शाहीले गुनासो गरे।
‘यो पुलमा ठूलो गाडी त वारपार नै हुनै सक्दैन’, उनले भने, ‘नगर प्रमुखको सक्रियता र डिभिजन कार्यालयको सहयोगमा टेण्डर भएको कुरा सुनेका छौँ, यसमा हामी निकै खुशी छौं।’
जीर्ण बनेको उक्त पुलको अनुगमनपछि भौतिक योजना तथा पुनर्निर्माण मन्त्री खड्क खत्रीले अब चाँडै पुल बन्ने बताए। डिभिजन प्रमुख बेलबहादुर भुजेललाई उक्त पुलको गुणस्तरका लागि निरन्तर अनुगमन गर्न पनि निर्देशन समेत मन्त्री खत्रीले दिएका छन्।
सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख बेलबहादुर भुजेलले पुलको अवस्था खतरनाक भएको देखेर पुल बनाउने निर्णयमा पुगेको बताएका छन्। उनले २८ लाख रुपैयाँको ठेक्का आह्वान गरी टेण्डर आह्वान गरिएको र अबको केही दिनमै ठेक्का दिई तत्काल काम सुरू हुने समेत बताएका छन्।