जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यका साथ नेपाली सेनाले रोल्पा जिल्लाका विभिन्न स्थानमा स्थानीयवासीसँगको सहकार्यमा विकास निर्माणका कामलाई निरन्तरता दिएको छ।
सदरमुकाम नजिक रहेर पनि जीर्ण संरचनामा विद्यालय सञ्चालन गर्न बाध्य तारा माध्यमिक विद्यालयमा नेपाली सेनाले सुविधायुक्त शौचालय निर्माण कार्य गरिरहेको छ। विद्यार्थीलाई सामूहिक रूपमा हातधुने सुविधा सहितको अपांगमैत्री शौचालय निर्माण गरिरहेको नेपाली सेनाको खड्क दल गणले जानकारी दिएको छ।
विद्यालयमा रहेका शौचालय पुराना हुनाका साथै विद्यार्थीको चापअनुसार पर्याप्तसमेत नभएकाले निर्माणका लागि सेनासँग गरिएको अनुरोधका आधारमा सुविधायुक्त शौचालय निर्माण भइरहेको तारा मावि वामरुकका प्रधानाध्यापक ओवीलाल महराले बताए। शौचालय निर्माण सँगै विद्यालयका ४८० विद्यार्थी र १५ जना शिक्षकलाई सुविधा पुग्ने महराले बताए।
सेनाको सहयोगले विद्यालय सरसफाइमा महत्वपूर्ण सहयोग पुग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर कुँवरले आशा व्यक्त गरे।यसपूर्व निर्माण गरिएका शौचालयमा पानीको सुविधा नहुनाका साथै अपांगमैत्रीसमेत नभएकामा सेनाको सहयोगमा निर्माण गरिएका शौचालयमा सुविधायुक्त रहेको कुँवरले बताए। ‘विद्यालय सुधारका लागि आगामी दिनमा समेत सेनाको सहयोगको अपेक्षा गरेका छौँ’, कुँवरले भने।
उता रोल्पा नगरपालिकाकै खुमेलमा खड्ग दल गणका गणपति अजय गुरुङको व्यक्तिगत लगानीमा ‘समाज घर’ निर्माण कार्य भइरहेको छ। सामाजिक काम गर्दा रूखमुनि बस्न बाध्य भएको भन्दै समाज घर निर्माणका लागि नेपाली सेनालाई अनुरोध गरेकाले जनताको श्रमदान र गणपतिको आर्थिक सहयोगमा सो घर निर्माण भइरहेको बताइएको छ। जनता घर निर्माणसँगै महिला समूहको बैठक, प्रौढ कक्षा सञ्चालन लगायतका सामाजिक काममा सहज हुने स्थानीयवासीले बताएका छन्।
यसपूर्व नेपाली सेनाको खड्क दल गण, रोल्पाले आफ्नै लगानीमा विद्यालय भवन, सडक निर्माण, खेलमैदान निर्माण लगायतका काम गरिसकेको थियो । विकासमा पछाडि परेको उत्तरी रोल्पाको विकास गतिविधिलाई प्राथमिकता दिएको सेनाले जनताको मागको आधारमा जिल्लाका अन्य स्थानमा समेत सहयोग गरिरहेको बताइएको छ। २५ वर्षअघि निर्माण आरम्भ गरिए पनि सम्पन्न हुन नसकेको सुलिचौर–थवाङ सडकको सिरक्याङ भिर नेपाली सेनाद्वारा फोडिएसँगै यसै वर्षदेखि सवारी साधन आवतजावत गर्न थालेका छन्। कडा चट्टान र भिरालो जमिनका कारण सडक निर्माण कार्य अवरुद्ध हुँदै आएकोमा नेपाली सेनाले निर्माणको जिम्मा लिएसँगै सो कार्य यसै वर्ष सम्पन्न भएको हो।
उता समुदायकै लगानीमा नमूना विद्यालय अभियान सञ्चालन गरेको वीर बलभद्र मावि थवाङमा भवन नहुँदा विद्याथी चौरमा पढ्न बाध्य हुँदै आएकामा नेपाली सेनाकै सहयोगमा विद्यालय भवन निर्माण भएको थियो। विशेषज्ञ डाक्टरको उपस्थितिमा रोल्पाको थवाङमै नेपाली सेनाले स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको थियो।
होलेरी–थवाङ शहीद मार्गअन्तर्गत दुईखोली सडकखण्डको पहरा काट्ने कामसमेत नेपाली सेनाको सहयोगमा यसै वर्ष सम्पन्न भएको थियो । जनताको मागका आधारमा जिल्लाका विभिन्न स्थानमा विकास निर्माणका काममा सहयोग हुँदै आएको खड्ग दल गणका गणपति अजय गुरुङले बताए।
‘जनतासँग सहकार्य गरेर काम गरिरहेका छौँ’, गुरुङले भने। जनताको श्रमदान एवम् आफूहरूको मानवीय र आर्थिक सहयोगमा विकास निर्माणका काम भइरहेको नेपाली सेनाको खड्ग दल गणले बताएको छ। रासस