बसन्त ऋतुको रमाइलो पर्व फागु (होली) को उल्लास हिमाली र पहाडी जिल्लामा बिहानैबाट छाएको छ।
बागलुङ पनि होलीको रमझमबाट अछुतो छैन। रङको पर्व भनेर चिनिने होलीको उत्साह सर्वत्र छाएको छ। विशेष गरी युवापुस्ता होलीको ‘मुड’ मा देखिन्छन्। पसलमा रङ, खेलौना, होलीमैत्री पोशाक किन्नेको भीड छ। पर्वको छेकोमा विभिन्न संघसंस्थाले मेला, उत्सव आयोजना गरेका छन्। होलीलाई मर्यादित बनाउन सुरक्षा प्रबन्ध मिलाइएको छ।
प्रेम र भाइचाराको प्रतिक मानिने होली पर्वको असर सहर हुँदै गाउँसम्म पुगेको छ। होलीलाई विशेष गरी सहरी युवाले धुमधामसँग मनाउने गरेका छन्। हिन्दू परम्परामा प्राचीन पर्वको ठाउँ ओगटेको होली एकापसमा रङ खेलेर मनाउने चलन छ। आधुनिकताले पर्वको मौलिकतामा ठेस नपुगेको पनि होइन। तर पनि, होली मान्ने प्रवृत्ति र उल्लास भने वर्षेनी थपिँदो छ। संस्कृतिकर्मी प्रेम छोटाको अनुभवमा होलीको असली रूप फेरिँदै गएको छ। ‘आधुनिकताले केही अन्तर पारेको छ, मौलिकता ओझेलमा छ’ छोटाले भने।
होली पर्वलाई जगेर्ना गर्ने नयाँपुस्ताको आफ्नै शैलीप्रति भने छोटा पनि सन्तुष्ट छन्। पर्वमा गरिने तडकभडक र अबाञ्छित क्रियाकलापलाई रोक्नुपर्ने उनको सुझाव छ। होलीलाई परम्परागत शैलीमै मनाउन नसके पनि पहिचानलाई मर्न नदिने नेपाल भाषा मंका खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए। खलले वर्षौंदेखि फागु पर्वलाई संस्थागत रूपमा मनाउँदै आएको छ। ‘बीचमा हराएको चलनलाई यसपालि हामी जोड्दैछौँ, मौलिकता जोगाउने हाम्रो ध्येय छ’ अध्यक्ष राजभण्डारीले भने।
फागुमा पुजिने भगवानलाई भोक दिने, पूजाआजा गर्ने, फागुको गीत गाउँदै फर्कने चलन पछिल्लो समय हराएको थियो। पुरानै परम्पराअनुसार यो वर्ष बागलुङ भगवती मन्दिर र गणेश मन्दिरमा भोकसहित विशेष पूजाआजा गरिने भएको छ। पूजाआजापछि बागलुङ नगरपालिका–३ नौबिसेटोलको भोटे बारीमा सामूहिक भोज हुने अध्यक्ष राभजण्डारीले बताए। यो वर्ष पनि ‘डिजे लाइभ कन्सर्ट’ सहित होली मनाउने तयारीमा बागलुङका युवा छन्।
हिन्दू संस्कृतिमा होली पर्वलाई भगवान् विष्णुका परम भक्त प्रह्लादसँग जोडेर हेर्ने गरिन्छ। त्रेता युगमा हीरण्यकश्यपका पुत्र प्रह्लादलाई उनकी फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा आफैँ आगोमा भष्म भएको दिनदेखि होली पर्व सुरु भएको किंवदन्ती छ। पछिल्लो समय होली अमर्यादित बन्दा कतिपय अकल्पनीय घटनासमेत घट्ने गरेका छन्। सीमा र मर्यादाभित्र बसेर होली पर्व मनाउन स्थानीय प्रशासनले आग्रहसमेत गरेको छ।
होलीका बेला उच्छृंखल गतिविधि हुन नदिन विशेष सुरक्षा निगरानी बढाइएको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए।
रासस