स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भेगमा बदली र केही स्थानमा हल्का वर्षा भएको छ।
उक्त वायुको प्रभावसँगै पश्चिमी वायुको सामान्य असरले आज खासगरी देशभरका पहाडी भेगमा बदली र एक/दुई स्थानमा हल्का वर्षा भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।
उनका अनुसार उपत्यकाको उत्तरी भेगमा बढी बदली रहेको र मेघ गर्जनसहित बाक्लो बादल बनेकाले हल्का वर्षा भएको हो। अहिले मध्यपहाडी भेगमा बढी बदली रहेको छ भने काठमाडौंका कतिपय स्थानमा छिटफुट वर्षा भइरहेको छ।
सामान्यतः ‘मार्च, अप्रिल र मे’ पूर्वमनसुनी याम मानिन्छ । तापक्रम पनि क्रमशः बढ्दै गएकाले मध्याह्नपछि बदली र वर्षात् गराउने सम्भावना हुन्छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको अधिकतम २३.२ र न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस रहेको छ।
रासस