निर्माणाधीन कोटेश्वर–कलंकी सडक छेउका घर–टहरा भत्काउन ढिलाइ गर्दा काममा अवरोध पुगेको छ।
सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानलगायतका ठाउँमा सडक छेउमा घर टहरा नहटाउँदा काममा बाधा पुगेको काठमाडौं चक्रपथ सुधार आयोजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए।
उनले भने, ‘हामीले सम्बन्धित व्यक्तिलाई पटक-पटक भने पनि अटेर गरिरहेका छन्।’ चिनियाँ कम्पनी संघाइ निर्माण सेवा समूहले निर्माणको जिम्मवारी लिएकामा आयोजनाले समन्वयको काम गरिरहेको छ।
मुख्य सडक चार लेनभन्दा बाहिर दुवैतिर दुई-दुई लेनको सहायक लेन र त्यो बाहिर एक-एक लेनको सर्भिस ट्रयाक बन्दैछ। सर्भिस ट्रयाक हुँदै सवारी साधन सहायक लेनमा छिर्न सक्छन्।
यी घर–टहराका कारण यस क्षेत्रमा सर्भिस ट्रयाकको काम अवरुद्ध भएको हो। यससँगै पाइप लाइन, विद्युतका पोललगायतका कारणले गर्दा काममा ढिलाइ हुने गरेको छ।
सडकमा बिच्छाइएका मेलम्ची र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा फुट्ने गरेको छ। इञ्जिनियर अर्याल भन्छन्, ‘सम्बन्धित निकायले सहयोग गरिदिए काम गर्न सजिलो हुन्थ्यो।’ सडकको जम्मा लागत एक अर्ब रुपैयाँ रहेको छ ।
रासस