सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ। जिल्लाको खुम्बु क्षेत्रसहित नेले, काँगेल, सोताङ, काकु, बासा लगायतका क्षेत्रमा अत्यधिक हिमपात भएको छ।
सगरमाथाको काखमा रहेको चौँरीखर्क, नाम्चेमा मंगलबारदेखि नै हिउँ परेको लुक्लाबाट लाखवीर तामाङले जानकारी दिए। उनले भने, ‘मंगलबारदेखि हिउँ परेको छ।’ बुधबार पनि हिउँ परेको उनले बताए। हिमपातसँगै हल्का वर्षात भएपछि जनजीवन कष्टकर बने पनि स्थानीयवासी भने हर्षित भएका छन्।
लामो समयदेखि हिउँ नपरेको कांगेल क्षेत्रमा यस वर्ष हिउँ परेको छ। बुधबार दिउँसो करीब १ः३० बजेदेखि करीब ४ घण्टा हिमपात भएको स्थानीयवासी राजेन्द्र बस्नेतले जानकारी दिए। बस्नेतले भने, ‘जन्मेको २६ वर्ष भयो हिउँ परेको थाहा थिएन, यस वर्ष हिउँ पर्यो, हिउँमा खेल्न पाउँदा एकदमै खुशी लाग्यो।’
त्यस क्षेत्रमा करीब दुई फिटसम्म हिउँ झरेको बताइएको छ। हिउँ खेल्नेहरूको भीड लागेको बासाबाट भेषराज पौडेलले जानकारी दिए। उनले भने, ‘हामी विद्यालयमा थियौँ, हिउँ पर्न थाल्यो, रमाइलो भयो, यस क्षेत्रमा हिउँ खेल्नेको भीड नै लागेको छ।’
जिल्लाको सदरमुकामसहित अन्य क्षेत्रमा सामान्य वर्षात भएको छ भने अत्यधिक चिसो महसुश गरिएको छ। पानी प्रशस्त नपरे पनि चिसो भने बढेको छ।
रासस