रौतहटका विकास निर्माणका कामको ८० करोड रुपैयाँ रकम भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले सडक डिभिजन कार्यालय रौतहट चन्द्रनिगाहपुरमा तालाबन्दी गरेका छन्।
कर्मचारीहरू कार्यालयभित्र काममा व्यस्त रहेको बेलामा बुधबार बिहान निर्माण व्यवसायीहरूले सडक डिभिजन कार्यालयमा ताला लगाएका हुन्। तालाबन्दी गरेको केही समयपछि पुगेको प्रहरीको टोलीले ताला फुटाएर कर्मचारीहरूलाई बाहिर निकालेका थिए।
आफ्नो लगानी गरेर , ऋण गरेर काम गरेको तर एक वर्ष हुँदा पनि भुक्तानीको व्यवस्था नगरेकाले तालाबन्दी गर्न बाध्य भएको निर्माण ब्यवसायी संघका ठेकेदार अरबिन्द सिंहले बताएका छन्। एक जना व्यवसायीको ५० लाख रुपैयाँदेखि एक करोडभन्दा बढी रकम भुक्तानी हुन सकेको छैन। रौतहट र सर्लाही जिल्लाका विभिन्न स्थानहरूमा गत आर्थिक वर्षमा सडक, पुल लगायतको काम डिभिजन सडक कार्यालयबाट सम्झौता गरी सम्पन्न गरेपनि भुक्तानी नदिएकाले आन्दोलन गर्नु परेको निर्माण व्यवसायीहरूको गुनासो छ।
डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख योगेश सुमनले निर्माणको बजेट स्थानीय तहमा आउने भनिएपनि नआएको र सडक कार्यालयमा पनि नपठाएकाले भुक्तानी दिन नसकेको बताएका छन्। ८० करोड भुक्तानी दिन बाँकी रहेको उनले जानकारी दिएका छन्।