राजधानीमा प्रदूषणविरुद्ध जनचेतना बढाउन र सरोकारवालाहरूलाई दबाब सिर्जना मास्कमाडौं–३ को अभियान सुरू गर्न लागिएको छ।
बढ्दो सवारी साधन, सडकको गुणस्तर र अव्यवस्थित सहरीकरणसँगै केही वर्षयता राजधानी काठमाडौं उपत्यकाको वायु प्रदूषणको स्तर निकै खस्किएको र यसले वातावरण र जनस्वास्थ्यमा प्रत्यक्ष असर पुर्याएको भन्दै त्यसको न्यूनीकरणका लागि सामूहिक प्रयासको खाँचो औँल्याउँदै सो अभियान सुरू गरिएको बताइएको छ।
स्वच्छ ऊर्जा नेपालको आयोजनामा सुरू गरिएको यो अभियान तेस्रो हो। सन् २०१६ र सुरूमा मास्कमाडौं पहिलो र दोस्रो सम्पन्न भएको थियो। मास्क नलगाई राजधानीमा हिँड्न नसकिने अवस्थाको अन्त्य गर्न यस्ता अभियानले सहयोग पुग्ने विश्वास लिइएको छ।
विभिन्न अध्ययनले काठमाडौंको वायु प्रदूषण विश्वमै अत्यन्त उच्च रहेको देखाएको र यसले काठमाडौंको पहिचान अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक पर्न गएको सन्दर्भमा त्यसलाई हटाउन सो अभियानलाई निरन्तरता दिइएको स्वच्छ ऊर्जा नेपालका कार्यक्रम प्रबन्धक राजन थापाले बताए। ‘हिजो मन्दिरैमन्दिरको सहरका रूपमा चिनिने काठमाडौं आज प्रदूषित सहरका रूपमा बदनाम हुँदा पर्यटनमा समेत नकारात्मक असर पर्न गएको छ’, थापाले भने।
हालै सार्वजनिक इन्भारोमेन्ट परफरमेन्स इन्डेक्स २०१८मा १८० मुलुकमा गरिएको अध्ययनमा वायु प्रदूषण बढी भएका पाँच राष्ट्रको सूचीमा नेपाल परेको छ। वायु प्रदूषणको हिसाबले नेपालको स्तर ३१.४४ रहेको छ।
सो अभियानअन्तर्गत यही माघ २५ गतेदेखि साताव्यापी रूपमा प्रदूषण बढी भएका राजधानीका चोकहरूमा प्रदूषणको समस्याका बारेमा अवगत गराउनेखालका कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
विश्व प्रेम दिवसका अवसरमा रत्नपार्कमा युवा, विद्यार्थीको सहभागितामा साझा संकल्प गरिने छ। ‘म मेरो फोक्सोलाई माया गर्छु’ भन्ने सो नाराका साथ उनीहरूलाई लक्षित गरी साझा संकल्प गराउन लागिएको प्रबन्धक थापाले बताए।
नेपालको संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने हकको व्यवस्था गरेकाले त्यसको कार्यान्वयन गराउन सरोकारवालादेखि सर्वसाधारणलाई समेत सचेत र जागरुक गराउन यस्ता अभियान आवश्यक भएको उनको कथन छ।
रासस