महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ६३२ एम्पुल लागूऔषधसहित आज एक भारतीयलाई पक्राउ गरेको छ।
प्रभागको टोलीले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४२८ नं को यात्रुवाहक बस जाँचका क्रममा लागूऔषधसहित नारायण गिरीलाई बिहान पक्राउ गरेको हो।
गिरीसँग लुफिजेसिक १९८ एम्पुल, फेनार्गन १९४ एम्पुल, डाइजेल्याब १९४ एम्पुल र नुर्फिन ४६ एम्पुल बरामद गरिएको प्रभागका प्रमुख केशव भट्टले जानकारी दिए। अभियुक्त गिरीलाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ।