जनआन्दोलनमा घाइते गोपाल श्रेष्ठको दैनिकी अहिले फेरिएको छ। उनलाई झापाको धुलाबारी सडकखण्डमा सिटी रिक्सा कुदाइरहेको देख्न सकिन्छ।
झापा मेचीनगर–९ खुट्टीडाँगी निवासी श्रेष्ठको सिटी सफारी किनेर आम्दानीको बाटो समात्नु बाध्यता पनि हो। घरमा रहेकी वृद्धा आमा, श्रीमती र छोरा पाल्ने दायित्व उनकै काँधमा छ, त्यसैले उनी सकिनसकी सिटी रिक्सा चलाइरहेका छन्।
‘के गर्नू, गरी त खानै पर्यो नि,’ जिउँदो शहीद श्रेष्ठले भने, ‘आम्दानीको बाटौ छैन, त्यही भएर रिक्सा चलाइरहेको छु।’ उनले छ महिनाअघि सिटी रिक्सा किस्तामा किनेका हुन्। त्यसबाट कमाएको पैसाले किस्ता तिर्ने र बचेको पैसाले घर चलाउने गरेको उनी बताउँछन्।
विसं २०६२/६३ को जनआन्दोलनमा चन्द्रगढीमा सैनिकले हानेको गोली लागेर उनी घाइते भएका थिए। राजतन्त्र फाल्न र गणतन्त्र ल्याउनका निमित्त २०७३ वैशाख ६ गते चन्द्रगढी मैदानमा उत्रेका श्रेष्ठको देब्रे तिघ्रामा गोली लागेको थियो।
घाइते उनलाई तत्कालै उपचारका लागि धरानको घोपा क्याम्प लगिएको थियो। लामो समयको उपचारपछि उनी घरैमा आराम गरिरहेका थिए तर आम्दानीको बाटो नहुँदा अहिले उनले सिटी रिक्साको सहारा लिएका हुन्। ‘अहिले पनि घुँडाको घाउ दुखिरहन्छ’, श्रेष्ठले भने, ‘तैपनि सकिनसकी रिक्सा चलाइरहेको छु।’
त्यसैबेला राजनीतिक दलहरूले उनलाई सहयोग नगरेका भने होइनन्। समिति नै बनाएर उनको उपचार गरियो। समितिले घर बनाइदियो, विवाह पनि गराइदियो। मासिक रूपमा नगरपालिका र धुलाबारी खानेपानी संस्थानले रकम सहयोग गरेको थियो तर अहिले सहयोग रोकिएको श्रेष्ठ बताउँछन्। ‘अहिले कतैबाट सहयोग रकम आएको छैन,’ उनले गुनासो पोखे, ‘बाँच्नकै लागि भए पनि काम नगरी भएन।’
सरकारी तवरबाट पनि उनले सहयोग खासै पाएका छैनन्। सरकारले उनको अवस्था हेरेर ४० हजार रुपैयाँ सहयोग गरेको थियो। त्यसबेला अन्य घाइतेले पाँच लाख रुपैयाँसम्म पाएका थिए। घाइतेको अवस्था हेरेर सरकारले त्यसबेला बनाएको मापदण्डमा उनको अवस्था ‘सामान्य घाइते’ भनेर उल्लेख गरिएको थियो।
उनलाई स्थानीयस्तरबाट सबैतिर सहयोग मिलेको नेपाली कांग्रेस क्षेत्रीय सभापति मणिकुमार उप्रेतीले बताए। उनले अरु घाइतेभन्दा श्रेष्ठलाई बढी नै सहयोग प्राप्त भएको बताउँदै भने, ‘गोपाललाई घाइते अवस्थामा सबैले खुलेर सहयोग गरेका छन्’ उनले भने, ‘जब कि अरु घाइतेले यतिको सहयोग पाउन सकेनन्।’
श्रेष्ठ करीब १० वर्ष जति हिँडडुल गर्न सकेनन्। उनी त्यसबेला जनान्दोलन समितिले बनाइदिएका घरमा आराम गरिरहे। दुई वर्ष यतादेखि उनी सामान्य हिँडडुल गर्न सक्ने भएका छन्। लामो समयसम्म हिँड्दा खुट्टा दुख्ने गरेको उनी सुनाउँछन्। उनको खुट्टा पूर्णरूपमा निको भएको छैन। चिकित्सकले बेलाबेला जाँचका लागि आउनू भनेछन् तर नगएको धेरै समय बितिसकेको उनी बताउँछन्।
श्रेष्ठले सिटी रिक्साबाट शुरु शुरुमा राम्रै आम्दानी भए पनि अहिले खासै नभएको बताउनुभयो । अहिले दिनमा रु एक हजार २०० देखि रु एक हजार ५०० सम्म कमाउने गरेको उहाँ जानकारी दिनुहुन्छ ।
“रिक्सा पनि धेरै भइसके, यात्रु पाउनै छाडिसक्यो,” उहाँले भन्नुभयो। धुलाबारीमा मात्र करिब दुई सय सिटी रिक्सा सञ्चालित छन् । उहाँले मेचीनगर नगरपालिकाले दिने भनेको मासिक रु तीन हजार ५०० रु भत्ता रोकिएकामा उहाँको गुनासो छ । उक्त सहयोग नरोक्न उहाँले नगरपालिकासँग आग्रह गर्नुभएको छ ।
–––