ठेकेदार कम्पनीको लापर्वाहीका कारण समय सकिँदासमेत निर्माणाधीन सप्तरीको कुशहा–बेल्ही सडकको काम पूरा हुन सकेको छैन।
उक्त योजनाअन्तर्गत निर्माण गरिएका सडक र नाला एक वर्ष नबित्दै भत्किन थालेका छन्। राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत निर्माणाधीन उक्त सडकको स्तरोन्नतिको काम सम्पन्न गर्ने समयसीमा २०७३ साउन १० गते सकिएको हो। अहिलेसम्म ५० प्रतिशत काम समेत हुन सकेको छैन। निर्माण भएका सडक र नाला ठाउँ-ठाउँमा भत्किएका छन्।
कूल ११ करोड एक लाख ७९ हजार रुपैयाँ लागतमा निर्माण भएका ती संरचना एक वर्ष नबित्दै भत्किन थालेका छन्। ठाउँ/ ठाउँमा कालोपत्र उप्किनुका साथै ठाउँ/ठाउँमा खाल्टाखुल्टी छन्। हालसम्म सात करोड ३५ लाख ९४ हजार रुपैयाँ बजेट निकासा भएको छ। जिल्ला प्राविधिक कार्यालय सप्तरीले श्री पप्पु मृतसञ्जिवनी जेभी खसीबजार काठमाडौंलाई सो निर्माणको जिम्मा दिएको हो। कुशहादेखि बेल्हीस्थित भारतीय सीमावर्ती क्षेत्रसम्म करीब साढे १६ किमी सडक निर्माण समयमा पूरा नहुँदा विभिन्न ठाउँमा खाल्टाखुल्टी छन्।
जिल्ला प्राविधिक कार्यालयका प्रमुख कृष्णकुमार मिश्रले सडक निर्माणको ठेक्का लिएका ठेकेदार सम्पर्कमा नरहेको बताए। उनले निर्माण गर्ने समय सकिएकाले केही समय थप्न ठेकेदार कम्पनीबाट निवेदन आएपनि त्यसयता सडक निर्माणका कुनै काम सुरू हुन नसकेको बताए।बिग्रिएको ठाउँमा ठेकेदार कम्पनीबाटै सडक मर्मत गराउने उनको भनाइ थियो।