रामपुरका युवा शशिराज डोटेल अपाङ्ग भए पनि छजनाको परिवार उनकै भरमा चलेको छ। उनी सुन्न र बोल्न सक्दैन तर पनि उनले गरेको तरकारी व्यवसाय सवलाङ्ग व्यक्तिभन्दा कुनै कम छैन ।
शशिराजको कृषि कार्य देख्ने जो कोही पनि दंग छन्। उनले विगत १० वर्षदेखि चार रोपनी जग्गामा तरकारी गर्दै आएका छन्। उनी तरकारी व्यवसायबाट जिल्लामै अगुवा कृषकका रूपमा चिनिन्छन्। डोटेलको कृषि पेशाप्रतिको मेहनत, लगाव र लगनशीलता आश्चर्यचकित पार्ने खालको छ।
डोटेलले तरकारी लगाएर छोराछोरीको पढाइ खर्च र घरायसी खर्च चलाउने गरेका छन्। तरकारी खेतीका अलवा अहिले उनले तीनवटा दुहुना भैँसी, ५०० कुखुरा र नौवटा बाख्रा पाल्दै आएका छन्। डोटेलले अहिले दैनिक २० लिटर दूध विक्री गर्छन्। उनले वार्षिक चार लाख रुपैयाँसम्म आम्दानी गर्छन्।
साढे दुई वर्षको उमेरमा मेनेन्जाइटिस रोगबाट ग्रसित डोटेलले विभिन्न ठाउँमा उपचार गरे पनि निको नहुँदा जीवनभर सुन्ने र बोल्ने क्षमता गुमाएका छन्। छोराको व्यवसायबाट आमा भगवती निकै खुशी छन्।
‘छजना सन्तानमध्ये एउटा छोरो मानसिक रूपमा अशक्त भए पनि उसको व्यवसायले मनमा हौसला बढ्दै गएको छ’, भगवतीले भनिन् ‘सानोमा मज्जाले बोल्ने सुन्ने छोरो रोग लागेर जीवनभर सुन्न र बोल्न नसक्ने भए पनि काम, मेहनत र लगनशीलता देख्दा निकै खुशी लागेको छ।’
शशिराज तरकारीको बिरुवा उमार्न, बेर्ना लगाउन, गोडमेल, रेखदेख, उत्पादनदेखि बिक्री गर्नका लागि आफैँ मोटरसाइकल चलाएर बजार पुग्छन्। कक्षा ८ सम्मको शिक्षा लिएका उनलाई श्रीमती दुर्गाले साथ दिँदैआएकी छन्। बैंकिङ कारोबारदेखि घरायसी व्यवहार उनले आफैँले गर्दै आएका छन्।
‘सुन्न र बोल्न नसक्ने भए पनि काम र लगनशीलता सवलाङ्ग व्यक्तिको भन्दा कम छैन,’ उनले भने। शशिराजले सामुदायिक कृषि सहायक तीन महिने तालीम पूरा गरेका छन्। यसले व्यवसाय गर्न सजिलो भएको छ। उनको व्यवसाय प्रशंसायोग्य मात्र नभई सबैका माझ नमूना बनेको छ। मान्छेले भित्री मनदेखि नै इच्छा शक्ति देखाएर काम गर्यो भने व्यवसायमा सफल भइन्छ भन्ने उदाहरणीय पात्र शशिराज बनेका छन्।