नगरपालिकामा सञ्चालन गरिने योजनाको प्राथमिकता निर्धारण गर्न पाँचवर्षे आवधिक विकास योजना निर्माण कार्य सुरू गरिएको छ।
आगामी फागुन मसान्तसम्ममा अन्तिम रूप दिनेगरी सुरू गरिएको रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक विकास योजना निर्माणका लागि हाल सबै वडाको विषयगत तथ्याङ्क संकलनको कामलाई तीव्रता दिइएको हो।
यही माघ १२ गतेसम्ममा १५ वटै वडाको समग्र परिचयमूलक तथ्यांक सकंलन गरिसक्ने समयसीमा तोकिएको छ। माघ १३ गतेदेखि तथ्याङ्क प्रशोधन काम सुरू गरेर माघ १८ र १९ गते पाँच वर्षभित्र गर्ने कामको प्राथमिकीकरण (भिजन सेटिङ) गरिने नगर प्रमुख दिपनारायण रिजालले जनाए।
योजनाको प्राथमिकीकरणपछि माघ २० देखि ३० गतेसम्म हरेक वडाको लक्ष्य सहितको विषयगत छलफल गरेर आवधिक विकास योजनाको मस्यौदा तयार गरिने छ। आवधिक विकास योजनाको मस्यौदालाई प्रमाणीकरणका लागि आगामी फागुन १५ गते कार्यशाला गर्ने र प्रमाणीकरण कार्यशालाबाट प्राप्त सुझावका आधारमा आवधिक योजनालाई अन्तिम रुप दिइने नगरपालिकाले जनाएको छ।
प्रमाणीकरण प्राप्त आवधिक योजनालाई नगर कार्यपालिकाबाट स्वीकृति प्रदान गरेपछि आवधिक विकास योजनाको अन्तिम टुंगो लाग्ने प्रमुख रिजालको भनाइ छ। मुलुकका ७५३ स्थानीय तहमध्ये रुपाकोट मझुवागढी नगरपालिका आवधिक योजना बनाउन अघि सर्ने पहिलो स्थानीय तह बनेको दाबी गरिएको छ।
भौतिक विकास, शिक्षा, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकतामा राखेर आवधिक नगर विकास योजना बनाइने नगरपालिकाले जनाएको छ। दश स्थानीय तह रहेको खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका रहेका छन्।