सरकारी राहत पाएसँगै जिल्लामा पुनर्निर्माणले गति लिएको छ। राहतको लामो प्रतीक्षामा बसेका भूकम्पपीडितले राहत रकमको पहिलो किस्ता पाउनासाथ पुनर्निर्माण कार्यलाई तीव्रता दिएका हुन्।
पहिलो किस्ता पाएसँगै प्राविधिक खटाइएपछि अधिकांश भूकम्प पीडितले घर निर्माण सुरू गरेका छन्। भूकम्प प्रभावितलाई अनुदान वितरण निर्देशिकाबमोजिम पहिलो किस्ता रकम ५० हजार रुपैयाँ वितरण गरिएको छ। भूकम्पबाट पूर्ण क्षति भएका १३ हजार ९५९ घरमध्ये १३ हजार ८४ भूकम्प पीडितले राहतको पहिलो किस्ता लिइसकेको सरकारी निकायको दाबी छ। रकम, जनशक्ति र प्राविधिकको अभावमा पुनर्निर्माणको काम अघि बढ्न नसकेपछि भूकम्प पीडित टहरा र क्षतिग्रस्त घरमै बसी जोखिम मोल्दै आएका थिए। सरकारी संयन्त्रले राहत वितरणमा ढिलाइ गर्नाले पुनर्निर्माणले गति लिन नसकेको बताइन्छ।
भूकम्प पीडितले घरको जग निर्माण कार्य सम्पन्न गरेपछि मात्रै दोस्रो किस्ता ८० हजार रुपैयाँ प्रदान गरिने बताइएको छ। त्यस्तै, छाना छाउने तहसम्मको कार्य सम्पन्न गरेपश्चात् तेस्रो किस्तामा सबै रकम भुक्तानी गरिने सरकारी निकायले जनाएको छ। यसअघि जिल्लाको अति प्रभावित पूर्वी भेगका २७० घर भने गैरसरकारी संस्थाको सहयोगमा निर्माण सम्पन्न भइसकेका थिए। सो बाहेक भूकम्पबाट क्षति भएर पनि लाभग्राही सूचीमा नपरेको र अनुदान नपाएको भन्दै एक हजार ३०० भन्दा बढी पीडितले जिल्ला समन्वय समितिमा निवेदन दिएका छन्।