दश जोड दुई तहमा अध्ययनरत विद्यार्थीका लागि राष्ट्रिय प्रारम्भीक प्रतिभा पहिचान शैक्षिक प्रतियोगिताको आवेदन आह्वान गरिएको छ।
पाँचौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड, २०१८ को आवेदन खुला भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। ओलम्पियाड एक शैक्षिक प्रतिष्पर्धात्मक प्रतियोगिता हो।
ओलम्पियाडमा २०७५ असार ६ गतेसम्म (जुन २०, २०१८) २० वर्ष भन्दा कम उमेर हुने १०+२ मा अध्ययनरत वा शैक्षिकसत्र २०१८ मा विश्वविद्यालय कार्यक्रममा भर्ना हुने विद्यार्थीले आवेदन दर्ता गर्न सक्नेछन्।
विद्यार्थीको सुविधाका लागि सोसाइटीको वेबसाइट www.nepalastronomicalsociety.org/olympiad मा गई आवेदन फाराम तथा प्रतियोगितासम्बन्धी जानकारी पुस्तिका डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।
प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीले २०७४ माघ २६ सम्म आफ्नो आवेदन दर्ता गर्नुपर्नेछ। प्रतियोगिताको पहिलो चरणको परीक्षा फागुन ५ मा विराटनगर, चितवन, काठमाडौं, पोखरा, बुटवल र धनगढीमा सञ्चालन गरिने सोसाइटीले जनाएको छ।
प्रतियोगितामा सामेल भई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतिष्पर्धाका लागि सिफारिस गरिनेछ। सन् २०१४ देखि सञ्चालन गरिएको यस प्रतियोगिताबाट ८०० भन्दा बढी विद्यार्थीले आफ्नो प्रतिभा परीक्षण गरिसकेका छन्।
प्रतियोगितामा खगोल र भौतिक विज्ञान एवं गणितसम्बन्धी प्रश्न सोधिने अध्यक्ष भट्टराईले बताए। छानिएका विद्यार्थी पाँच महिनापछि हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन्।