सिन्धुपाल्चोकको पूर्वी उत्तरी क्षेत्र कर्थलीमा दोलखा हुँदै छिमेकी मित्रराष्ट्र चीनसितको फलाटे नाका जोड्ने बाह्रविसेदेखि कर्थलीसम्मको नौ किलोमिटर बाटो कालोपत्र हुन लागेपछि स्थानीयबासीमा खुशियाली छाएको छ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको बतासेदेखि दोलखा हुँदै चीनको सीमास्थित फलाटे नाकासम्म जोड्ने छोटो सडकमार्ग अन्तर्गतको कर्थलीमा नौ किलोमिटर बाटो कालोपत्र हुन लागेपछि ग्रामीण बस्तीमा खुशी छाएको हो।
बाह्रबिसे नगरपालिकाको बतासे, खागदलदेखि ठाँटीचौर, क्षमादेवी, कर्थली, दुरुमथली दोलङ्सा हुँदै दोलखाको विगुसम्म पुग्ने उक्त मोटरबाटो हाल बतासेदेखि दुरुमथलीसम्म कालोपत्र हुन लागेको छ।
बाह्रविसे नगरपालिका–२ कर्थलीका ४१ वर्षीय मिङ्मा लामु शेर्पा चार घण्टा हिँडेर बाह्रविसे बजार पुग्ने गरेकामा अहिले एक घण्टामा नै बजारबाट घर पुग्दा साह्रै खुशी देखिन्थे। ‘धेरै मानिसले तपाईंको गाउँमा बाटो ल्याइदिन्छौँ भन्दै भोट माग्न आए, मलाई गाउँमा यसरी बाटो आउलाजस्तो लागेको थिएन, आज आयो, साह्रै खुशी छु,’ उनी भन्छन्।
यस्तै, सोही गाउँका २७ वर्षीय विकास लामा दोलखा र चीनसम्म जोड्ने बाटो आफ्नै गाउँबाट जान लाग्दा साह्रै हर्षित देखिन्थे। ‘यो ठाउँ यस्तो होला भन्ने लागेको थिएन, आज कालोपत्र हुँदैछ, अब गाउँमा बस्दा पनि आनन्द लागेको छ’, उनी भन्छन्। उनी गाउँका कोही व्यक्ति बिरामी भयो भने पनि घरमै एम्बुलेन्स आउने बताउँछन्।
उक्त सडक दोलखा जिल्लाको उत्तरी भेगमा पर्ने हालको विगु गाउँपालिका र साबिकका १३ गाविसलाई जोड्ने काठमाडौंदेखिको नजिकको मार्ग हो। बतासेदेखि लामाबगर हुँदै चीन नाकासम्मको दूरी झण्डै ५० किलोमिटरको हाराहारीमा रहेको छ।
कर्थलीका ४७ वर्षीय पासाङ शेर्पा गाउँमै कालोपत्र सडक आएपछि अब दुःखका दिन गएको बताउँछन्। ‘बाटो नखुलेको बेला बाह्रबिसेबाट नुन, तेल, मरमसला बोकेर चार घण्टा उकालो चढ्नुपर्थ्यो, आज कालोपत्र सडक गाउँमै आएको छ, अब सामान गाडीमा राखेर घरमा ल्याउन पाइने भइयो, खुशीको सीमा नै छैन,’ उनी भन्छन्।
सो सडक गौरीशंकर हिमालको पदयात्राका लागि पनि महत्वपूर्ण मानिन्छ। उक्त सडकले छुने ठाउँमा चौँरीका साथै यार्सागुम्बा, पाँचऔँले, खोटेसल्लो र धुपीजस्ता महत्वपूर्ण वस्तु पाइन्छन्।
सो सडक सोही क्षेत्रका तत्कालीन सांसद एवम् वर्तमान सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको पहलमा कालोपत्र हुन लागेको हो । मन्त्री बस्नेत जिल्लाको पूर्वी, उत्तरी क्षेत्र र दोलखा हुँदै चीनसम्म यातायातका साधनलाई सहज आवागमनका लागि उक्त मोटरबाटोलाई प्राथमिकतामा राखेर कालोपत्रको काम सुरू गर्न लागेको बताउँछन्।
‘यो बाटोले निकट भविष्यमा नेपाललाई चीनसँग जोडेर दुई देशबीचको सम्बन्ध र व्यापार–व्यवसायलाई जोड्न महत्वपूर्ण भूमिका खेल्नेछ,’ मन्त्री बस्नेत भन्छन्।
निर्माणको जिम्मा पाएको जोइन्ट भेञ्चर (लुम्बिनी, बन्धक भगवती, ड्रागन) कम्पनीका इन्जिनियर रोहित पौडेल खत्री आफ्नो कम्पनीले पहाडी क्षेत्रमा बनाएको बाटोमध्ये सो बाटो नमूना बाटो भएको बताउँछन्। हाल कालोपत्र हुन लागेको बतासेदेखि दुरुमथलीसम्मको नौ किमी सडक ३३ करोड रुपैयाँमा निर्माण हुन लागेको छ।