म्यादी प्रहरी विवेक ऐडीको हत्याको घटनालाई लिएर लगाइएको दुई घण्टाको कर्फ्यू अर्काे आदेश नहुञ्जेलका लागि पुनः सुरू भएको छ।
जिल्ला प्रशासन कार्यालयले बिहान स्थानीयवासीलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म कर्फ्यू हटाइए पनि बिहान १० बजेदेखि पुन: सुरू भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।
प्रजिअ बद्रीनाथ गैरेका अनुसार बिहान १० बजेसम्म अवस्था हेरी स्थगित कर्फ्यू स्थिति नियन्त्रणमा नआउने अवस्था भएपछि पुनः अर्काे सूचना नहुँदासम्मका लागि थप गरिएको बताए। अहिले जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष, नागरिक समाज, राजनीतिक दल र प्रशासनबीच छलफल हुँदैछ।
शनिबार जिल्ला प्रशासन कार्यालयमा छलफल भइरहेका समयमा आन्दोलनकारी म्यादी प्रहरीले प्रशासन अगाडि टायर बाल्नाका साथै ढुंगामुढा प्रहार भएपछि ४ बजेदेखि कर्फ्यू लगाइएको थियो ।
आन्दोलनकारीले शनिबार राति कर्फ्यू जारी भएका अवस्थामा सशस्त्र प्रहरी गण रहेको भवनमा आगजनी गरेका छन् । त्यहाँ सशस्त्र प्रहरी जुम्लाबाट बोलाइएको छ ।