जनताको गुनासो सुन्नका लागि तुलसीपुर उपमहानगरपालिकाले बिहिबारदेखि टोल फ्री नं. प्रयोगमा ल्याउने भएको छ।
उपमहानगरको सेवा प्रवाह र विकासका बारेमा बुझ्नका लागि सर्वसारधारणले पैसा नलाग्ने फोन नं. १६६०८२५२००० मा फोन गर्न सक्नेछन्।
‘कर्मचारीले सर्वसाधारणलाई गर्ने व्यवहार र उपमहानगरका हेरक वडामा भएका गरेका विकास निर्माणको बारेमा प्रत्यक्ष जनताको गुनासो सुन्नको लागि टोल फ्री नम्वर प्रयोग ल्याउन लागिएको हो,’ मेयर घनश्याम पाण्डेले भने।
जनताको गुनासा सुन्दै सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन तथा तुलसीपुर उपमहानगरलाई सबै जनताको पहुँचमा पुर्याउन र सूचनामैत्री बनाउनका लागि ‘हेलो मेयर’ कार्यक्रम सञ्चालनमा ल्याउन लागेको मेयर पाण्डेले बताए । हेलो मेयर अन्तरगत टोलफ्री नम्वर, फेस बुक, ट्वीटर र जी-मेल एकै पटक सार्वजनिक गर्न लागिएको उनले जानकारी दिए। दाङमा कुनैपनि स्थानीय निकायले हालसम्म यस्तो टोल फ्री नम्वर प्रयोगमा ल्याएका छैनन् ।
उक्त टोल फ्री नम्वर २४ सै घन्टा सर्वसाधारणले आफ्ना गुनासोहरू रेकर्ड गर्न पाउने प्रबन्ध गरिएको मेयर पाण्डेले जानकारी दिए। ‘कतैबाट पनि मेयरसँग भेट गर्न पाइएन भन्ने गुनासो गर्न नपाउन् र नगरबासीका गुनासा तत्काल सम्वोधन गर्न सकियोस् भन्ने उद्धेश्यले ‘हेलो मेयर’ कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको हो,’ मेयर पाण्डेले भने। तुलसीपुरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने योजना अनुसार कामहरू भइरहेको उनले बताए ।