संघीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई अतिरिक्त विकास अनुदानस्वरुप करीब एक अर्ब ८१ करोड ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ।
दुईसय २० किलोभोल्ट दमौली–लेखनाथ जलविद्युत् प्रसारण लाइनअन्तर्गत ४३ किलोमिटर प्रसारण लाइन निर्माणका लागि जर्मनीले उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको काठमाडौंस्थित जर्मन राजदूतावासले जनाएको छ।
जर्मन डेभलपमेण्ट बैंकमार्फत उक्त सहायता रकम नेपाललाई उपलब्ध हुने सो दूतावासले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
गतवर्ष जर्मनीले नेपालमा ऊर्जा क्षमता प्रवर्द्धन तथा नवीकरणीय ऊर्जाका निम्ति एक अर्ब ९३ करोड ६० लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। लेखनाथ–दमौली दुईसय २० किलोभोल्ट विद्युत् प्रसारण लाइन निर्माण गर्न जर्मनीबाट कूल तीन अर्ब ७५ करोड १० लाख रुपैयाँ प्राप्त हुनेछ।
सेती–मादी नदीबाट उत्पादित बिजुली उक्त प्रसारण लाइनमार्फत स्थानीयवासीका घरमा आपूर्ति हुनेछ ।