महोत्तरी जिल्लामा विगत पाँच दिनदेखि असहनीय जाडो भइरहेका बेला नेपाली सेनाले जिल्ला सदरमुकाम जलेश्वरमा न्यानो बाँड्न थालेको छ ।
जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको फस्ट राइफल गणले आज बिहान मात्रै जिल्लाको सदरमुकाम जलेश्वरको चार स्थानमा दाउरा बालेर सर्वसाधारणलाई न्यानो प्रदान गरेको स्थानीयवासीले बताएका छन्। त्यस्तै, सर्वसाधारणलाई नेपाली सेनाले तातो चियासमेत बाँडेको जनाइएको छ।
नेपाली सेनाले जलेश्वरको दुर्गाचोक, शंकरचोक, बुद्धिजीवीचोक र खैराचोकमा दाउरा बालेर र चिया पिलाएर न्यानो बाँडेको गणका प्रमुख सेनानी कृष्ण खड्का क्षेत्रीले बताए।
यसरी जिल्लामा विगत पाँचदिनदेखि शीतलहर, चिसो हावा र कठ्याङ्ग्रिँदो जाडो भइरहेका बेला नेपाली सेनाले दाउरा बालिदिएपछि र चिया वितरण गरेपछि जिल्ला सदरमुकाम जलेश्वरको बाटोमा जीवन बिताउने, न्यानो लुगाफाटाको अभाव भएका तथा स्थानीय बासिन्दासहित लाभान्वित भएका छन् ।