नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताका लागि केन्द्रमा संयोजन समिति गठन भएको बीस दिनपछि खोटाङमा पनि समिति गठन गरिएको छ ।
नेकपा (एमाले) का जिल्ला अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक बबी चाम्लिङको संयोजकत्वमा मंगलबार सात सदस्यीय बाम एकता संयोजन समिति गठन गरिएको हो ।
समितिको सहसंयोजकमा नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष देवान किराती (पृथ्वी) रहेका भने सदस्यमा एमालेका उपाध्यक्ष रामप्रसाद दंगाल, सचिव देवविक्रम राई तथा माओवादी केन्द्रका कोषाध्यक्ष दीपक पाण्डे (आकाश) र सचिवालय सदस्य सुरेश राई रहेका छन्। संयोजन समितिले मंगलबार दिक्तेलमा दुवै पार्टीको अगुवा कार्यकर्ता भेलासमेत गरेको थियो।
दिक्तेलस्थित समीक्षालय हलमा आयोजना गरिएको कार्यक्रममा एकताको भाव देखाउन दुवै पार्टीका नेताबीच चुनाव चिह्न साटासाट गरिएको छ। एमालेको चुनाव चिह्न माओवादी उम्मेदवारले र माओवादीको चुनाव चिह्न एमालेका उम्मेदवारबीच साटासाट गरेर एकताको भाव प्रकट गरेका हुन्।
भेलामा आगामी मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर एक हजार ७ सय सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ। वाम एकता संयोजन समितिका संयोजक तथा एमाले अध्यक्ष चाम्लिङको संयोजकत्वमा गठन गरिएको प्रचारप्रसार समितिको सहसंयोजकमा माओवादी केन्द्रका अध्यक्ष पृथ्वी रहेका छन्।
प्रदेशसभामा दुई क्षेत्र रहेको जिल्लाको १ नं क्षेत्रमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दुर्गाजयन्ती राई संयोजक र एमालेका क्षेत्रीय अध्यक्ष सुरेन्द्र राई सहसंयोजक रहेको ७७७ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ ।
यस्तै, प्रदेशसभा क्षेत्र नं २ मा एमाले उपाध्यक्ष दंगाल संयोजक र माओवादी केन्द्रका कोषाध्यक्ष आकाश सहसंयोजक रहेको ७७७ सदस्यीय नै प्रचारप्रसार समिति गठन गरिएको छ।
जिल्लाबाट प्रतिनिधिसभाका लागि एमालेका केन्द्रीय वैकल्पिक सदस्य तथा पूर्व सांसद विशाल भट्टराई र प्रदेशसभा नं १ बाट एमालेका केन्द्रीय वैकल्पिक सदस्य राजन राई र प्रदेशसभा नं २ बाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रामकुमार राई (पासाङ) उम्मेदवार बनेका छन्।
दुवै पार्टीले तीनैजना उम्मेदवार साझा भएकाले संकुचित नहुन भेलामा सहभागी कार्यकर्तालाई निर्देशन दिएका छन्।