राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले मंगलबार पदभार ग्रहण गरेका छन्।
प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदबाट डा.गोविन्दराज पोखरेलले शनिबार राजीनामा दिएपछि सोमबार मन्त्रिपरिषदले नेपाल सरकारका पूर्व सचिव भुसाललाई नयाँ सिईओमा नियुक्त गरेको हो।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) भुसाललाई प्राधिकरणका सचिव सर्वजित प्रसाद महतो, कार्यकारी सदस्यहरू डा.चन्द्रबहादुर श्रेष्ठ, डा.विष्णु बहादुर भण्डारी, डा. हरिराम पराजुली, सहसचिव लगायतले स्वागत गरेका थिए।
पदभार ग्रहण गरेपछि प्राधिकरणका अधिकारीहरू एवम् संचारकर्मीलाई सम्बोधन गर्दै सिईओ भुसालले टहरामा बसेका दाजुभाई तथा दिदीबहिनीको आँशु पुछ्न आफू लागिपर्ने बताए। उनले पहिलो चरणमा भूकम्प दिवस (माघ २)अघिको तीन महिनामा केही ठोस कार्य गर्ने र दोस्रो चरणमा आगामी बर्खाअघि त्यसलाई थप गति दिने बताए।
भूकम्प प्रभावितलाई नयाँ घरमा बसाल्ने कार्यलाई पहिलो प्राथमिकता दिइने भए पनि क्षतिग्रस्त ऐतिहासिक धरोहरहरू तथा पुरातात्विक संरचनाको पुनर्निर्माणलाई पनि तीव्रता दिने आफ्नो योजना रहेको पनि उनले जानकारी गराए।
पूर्व प्रमुख कार्यकारी अधिकृतहरूले आ–आफ्नो चरणको कार्य गरेको उल्लेख गर्दै भुसालले भूकम्प प्रभावितलाई सेवा गर्ने उद्देश्यले प्राधिकरणमा आएको धारणा राखे।
२०७१ साउनमा अर्थसचिवबाट सेवा निवृत्त भएका भुसालसँग पर्यटन, सामान्य प्रशासन, स्थानीय विकास मन्त्रालय, प्रधानमन्त्री कार्यालय, महिला बालबालिका, वन मन्त्रालय, राष्ट्रिय योजना आयोगमा कार्य गरेको अनुभव छ। सेवानिवृत्त भएपछि उनले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा अध्ययन निर्देशक बनेर काम गरेका थिए।
पदभार ग्रहणपछि प्रमुख कार्यकारी अधिकृत भुसालले प्राधिकरणका उच्च अधिकारीबाट ब्रिफिङ लिएका छन्। सो क्रममा उनले भूकम्प पीडितहरूको पुनःस्थापना र पुनर्निर्माणमा परिणाममुखी भएर काम गर्न निर्देशन समेत दिए।
https://www.youtube.com/watch?v=Df9CETHPvHY&feature=youtu.be