उपप्रधानमन्त्री कमल थापाले कुलेखानी तेस्रो जलविद्युत परियोजना समय सीमाभित्र सक्न सम्बन्धित सबैलाई आ-आफ्नो ठाउँबाट सामूहिक प्रयास गर्न आग्रह गरेका छन्।
आज भैसेको सानुटारमा रहेको परियोजनास्थलको निरीक्षण गर्दै उनले निर्माण कार्यको ढिलासुस्तीप्रति प्रश्न गरे । यो परियोजनाको आवश्यकता र महत्त्व धेरै रहेको भन्दै समय सीमाभित्र कार्य सम्पन्न गर्न उनले सामूहिक रूपमा प्रयास गर्न आग्रह गरेका छन्।
लोडसेडिङको पीडाबाट सधैँको लागि मुक्त हुनको लागि यो परियोजना चाडै सम्पन्न हुनुपर्ने उपप्रधानमन्त्री थापाको भनाई थियो। परियोजना सम्पन्न गर्न के/ के समस्याहरू छन् ,त्यो समाधान गर्न आफ्नो कुनै भूमिका भए आफू तयार रहेको समेत उनले बताए। ३५ प्रतिशत नेपाली जनता विद्युत सेवाबाट बन्चित रहेको भन्दै बिजुलीको पहुँच बाहिर रहेका जनतालाई लक्षित गरेर कार्य गर्नुपर्ने आवश्यकता उनले औल्याए ।
आजै उपप्रधानमन्त्री थापाले विद्युत प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालयमा आयोजित कार्यक्रममा विद्युत चुहावटलाई नियन्त्रण गर्न कर्मचारीहरूलाई निर्देशन दिए । सो अवसरमा उपप्रधानमन्त्री थापाले उर्जा मन्त्रालयका सचिव र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सँगै कर्मचारीको प्रशंसा गरेका थिए।
कार्यक्रममा उर्जा मन्त्रालयका सचिव अनुप उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।