सभामुख ओनसरी घर्तीले चिकित्सा शिक्षा विधेयक पारित गर्ने विषयमा प्रमुख दलका शीर्ष नेताहरूको बैठक डाकेकी छिन्।
अनसनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गरेर विधेयक परिमार्जन गर्न सरकार र नेपाली काँग्रेसले प्रयत्न गरिरहँदा एमाले र माओवादी केन्द्रले प्रक्रियामा प्रश्न उठाउँदै आएका छन्। निर्वाचन अघि सम्भवत संसदको बैठक आज अन्तिम पटक बस्दैछ। संसदको ३ बजेको बैठक अघि सभामुखले साढे २ बजे शीर्ष नेताहरूको बैठक डाकेकी हुन्।
संसदको आजको बैठकबाट विधेयक पारित नभए कम्तिमा निर्वाचनपछिसम्मका लागि धकेलिने छ। संसदको महिला बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिले सर्वसम्मत रुपमा विधेयक सहितको प्रतिवेदन पारित गरेको थियो। तर, गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले १० वर्ष काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न नदिने गरि विधेयक परिमार्जन गर्न चाहेको छ।
एमालेले मनमोहन मेडिकल कलेज र माओवादीले बि एण्ड सी मेडिकल कलेज रोक्न गरि प्रस्ताव आएको भन्दै विरोध जनाउँदै आएका छन्। बिहिबार सभामुखले विधेयक पारित गर्न दलका प्रमुख सचेतक, शिक्षा मन्त्री र सांसदहरू बोलाएर छलफल गरेकी थिइन्। तर सहमति जुट्न सकेको थिएन।
बिहिबार साँझ गोविन्द केसीले सभामुखलाई विधेयक पारितका लागि विशेषाधिकार प्रयोग गर्न आग्रह गरेका थिए। सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले केसीकै भनाई अनुसार सभामुखले आफ्नो तर्फबाट बैठक डाकेको बताए।