निर्वाचन आयोग नेपालले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारहरूको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेको छ।
बिहिबार चार वटा सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचनको सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा व्यक्त गरेका हुन्।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रिय तहको निर्वाचन भएकाले राष्ट्रिय तहको नेता र उम्मेदवारहरूको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराए।
कार्यक्रममा उनले उम्मेदवारहरूको सुरक्षा व्यवस्था नै सबैभन्दा महत्त्वपूर्ण पक्ष भएको पनि स्पष्ट पारे।
विगतमा पनि निर्वाचनका क्रममा विभिन्न सुरक्षा चुनौतीहरू बढेको र त्यस किसिमका गतिविधि अबको निर्वाचनमा दोहोरिन दिन नहुने यादवले बताए।
प्रमुख निर्वाचन आयुक्त यादवले सरकारले ल्याएको निर्वाचन सम्बन्धी सुरक्षा योजना ज्यादै व्यवहारिक भएको टिप्पणी गरे। त्यस क्रममा सुरक्षा निकायका अधिकारीहरूले स्थानीय तहको निर्वाचनको अनुभवलाई समेत समेटेर निर्वाचन सम्बन्धी केन्द्रीय योजना तयार पारिएको जानकारी गराएका थिए।
आगामी मंसिर १० र २१ गते दुई चरणमा गरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ। राजनीतिक दलहरूले २९ गते आइतबार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा पेश गर्नुपर्नेछ।