सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेसको उदारताका आधारमा चुनावी गठबन्धन हुने वा नहुने स्पष्ट पारेका छन् ।
बिहिबार राजधानीमा समाजवादी फोरम र नेपाल कम्यूनिष्ट पार्टी संयूक्त मार्क्सवादीबीच भएको पार्टी एकीकरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन्।
वाम गठबन्धन बन्ने लागेपछि काँग्रेस आफूहरूसँग चुनावी तालमेलमा सामेल हुन आग्रह गरेको बताउँदै अध्यक्ष यादवले भने,‘हामीलाई काँग्रेसले चुनावी गठबन्धनमा सामेल हुनको लागि आग्रह गरेको छ, हामीले त्यसलाई सहर्ष स्वीकार गरेका छौँ, तथापि काँग्रेसले सबैलाई मिलाएर लैजाने हो भने हामी तालमेल गर्न तयार छौँ, त्यो जिम्मा काँग्रेसकै भागमा छ, खासमा भन्ने हो भने अब बल काँग्रेसको कोर्टमा छ।’
उनले अघि थपे,‘काँग्रेसको उदारता र मिलाएर लैजाने क्षमतामा भरपर्छ, सरकारमा जाने नजाने कुनैपनि निर्णय भएको छैन, हामीले राजपासँग चुनावी तालमेल गर्ने निर्णय गरेका छौँ, काँग्रेसले राखेको प्रस्तावमाथि गृहकार्य भैरहेको छ।’
सङ्घीय समाजवादी फोरम एउटा वैकल्पिक शक्ति हो, राईट एण्ड लेफ्ट बनेर उभिएका वर्तमान राजनितिक शक्तिभन्दा फरक कोणबाट उत्पीडितहरूको हितका निम्ति काम गर्ने उनले बताए।