पर्सा जिल्लाको सबैभन्दा कान्छो नगरपालिका पर्सागढी नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसको तर्फबाट मेयर पदका प्रत्यासी लोकनारायण यादव ३ हजार ९ सय ६५ मत प्राप्त गर्दै विजयी भएका छन् । आफ्नो निकटम प्रतिद्वन्द्वी नेकापा एमालेका गोकर्ण पाठकलाई ६७ मतको झिनो मतान्तरले पराजित गर्दै कांग्रेसका यादव विजयी भएका हुन् ।
एमालेका पाठकले ३ हजार ८ सय ९८ मत प्राप्त गरेका छन् । मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार बृजमोहन चौधरीले ३ हजार ६ सय १७ मत प्राप्त गरेका छन् भने बहुजन शक्ति पार्टीका जयप्रकाश महराले ६ सय ९५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका धन बहादुर श्रेष्ठले ५११ मत प्राप्त गरेका छन् भने राष्ट्रिय जनता पार्टी (राजपा)का मान्नुल हक अन्सारीले ८८ मत प्राप्त गरेका छन् ।
नेपाल लोकतान्त्रिक पार्टीका धुरेंद्र प्रसाद यादवले ७९, राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव प्रसाद उपाध्यायले ७० र राष्ट्रिय जनमोर्चा पार्टीका आलिम मियाँले १८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, उप-मेयरको पदमा पनि ४ हजार ५ सय ५९ मत प्राप्त गर्दै नेपाली कांग्रेसको अर्चना चौधरी विजयी भएकी छन् ।
उनको निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी काली देवी चौधरीले ३ हजर ६ सय ५० मत प्राप्त गरेकी छन् । त्यस्तै, फोरम नेपालकी मिना कुमारीले ३ हजार ५९, माओवादी केन्द्रकी अस्मिता पोख्रेलले ५ सय ६५, राजपाकी सिमा कुमारी लोहारले १०२, नेपाल लोकतान्त्रिक पार्टीकी राम माया लोप्चनले ७९ मत प्राप्त गरेका छन् ।