सर्लाहीको ११ नगरपालिकामध्ये ६ नगरपालिकामा मत गणना जारी रहँदा नेपाली कांग्रेसले ३ नगरपालिकामा अग्रता लिएको छ ।
नेकपा एमालेले उसलाई पछ्याउँदै २ वटा नगरपालिकामा अग्रता कायम गरेको छ ।
संघीय समाजवादी नेपालले भने १ नगरपालिकामा अगाडि रहेको छ ।
कांग्रेसले मलंगवा, हरिपुर र हरिपूर्वा नगरपालिकामा अग्रता लिएको हो । एमालेले ईश्वरपुर र हरिवन नगरपालिकामा अग्रता कायम गरेको छ । संघीय समाजवादी बरहथवा नगरपालिकामा अगाडि रहेको छ ।
पछिल्लो मत परिणाम अनुसार मलंगवा नगरपालिकाको मेयर पदमा कांग्रेसका निरसल शाहले ५० मत ल्याउँदा उपमेयर पदका लागि राजपा नेपालका समा आराले ६० मत प्राप्त गरेकी छन् । यसैगरी, हरिपुर नगरपालिकामा मेयरमा कांग्रेसका उदय नारायण चौधरीले १२३ मत ल्याएर अग्रता कायम गर्दा उपमेयरकोे मत प्राप्त हुन सकको छैन ।
हरिपूर्वा नगरपालिकामा कांग्रेसका सियाराम रायले १२३ मत ल्याउँदा एमालेकी बन्दनाकुमारी शाहले ११४ मत ल्याएकी छन् । यस्तै, एमालेले अग्रता लिएको हरिवन नगरपालिकाको मेयरमा गणेशप्रसाद प्रसाईले २८५ मत प्राप्त गर्दा उपमेयरमा एमालेकै रेणुकुमारी पौडेलले २८१ मत ल्याएकी छन् भने ईश्वरपुर नगरपालिकाको मेयर पदका लागि मनोजकुमार देवकोटाले ४३७ मत ल्याउँदा उपमेयरमा एकादेशीदेवी चौधरीले ४२० मत ल्याएकी छन् ।
बरहथवा नगरपालिकाको मेयर पदका लागि भने संघीय समाजवादीका जयप्रकाश गुप्ताले २२९ मत ल्याएका छन् । २० स्थानीय तह रहेको सर्लाहीमा १२ वटा स्थानीय तहमा मत गणना जारी रहेको छ ।