निर्वाचन आयोगले सोमबारको मन्त्रिपरिषद विस्तार निर्णय आचारसंहिताविपरीत भन्दै सच्याउन सरकारसँग आग्रह गरेको छ।
सरकारको असोज २ गते दुई राज्यमन्त्री थप गरी मन्त्रिपरिषद विस्तार गरेको थियो। यसले निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नवराज ढकालद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, 'आचारसंहिता जारी भइसकेपछि सरकारको मन्त्रिपरिषद विस्तार गर्ने निर्णयबाट निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने, राज्यका संवैधानिक निकायबीच संवैधानिक दायित्वबमोजिमका शक्ति सन्तुलन तथा पृथकीकरणको सिद्धान्तको अवमूल्यन हुने र निर्वाचन आचारसंहिता प्रतिकूलसमेत हुने भएकाले मन्त्रिपरिषद विस्तारको निर्णय अविलम्ब सच्याउन आयोग सरकारसँग आग्रह गर्दछ ।’
यसअघि गत भदौ २६ गते पनि आयोगले मन्त्रिपरिषद् विस्तारले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्न सक्ने जनाउँदै यस किसिमका कार्य नगर्न नगराउन सरकारसँग आग्रह गरेको थियो।