राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका अध्यक्ष मण्डलका राजेन्द्र महतोले राजपाले यो निर्वाचनमा सोचे अनुसार नतिजा नल्याएपनि अर्को निर्वाचनमा ल्याउने दाबी गरेका छन् ।
गृह जिल्ला सर्लाहीबाट सेतोपाटीसँग कुराकानी गर्दै महतोले प्रदेशसभा र प्रतिनिधि सभाका निर्वाचनमा राजपाको पक्षमा अत्यधिक मत आउने बताए ।
‘स्थानीय निर्वाचन भएकोले कतिपय ठाउँहरूमा राजपा बीचकै प्रतिस्पर्धाले सोचे जस्तो नतिजा नआउन सक्छ’ उनले भने,‘अब हुने निर्वाचनमा जनताले आन्दोलनकै पक्षमा मत दिन्छन् ।अधिकांश ठाउँमा राजपाले चुनाव जित्छ।’
यो निर्वाचनलाई राजपाले आन्दोनको रुपमा लिएको भन्दै महतोले जनताले आन्दोलनकै पक्षमा मत दिने विश्वास व्यक्त गरे । ‘संविधान जनताको मतबाट बनाइयो संशोधनलाई जनताकै मतबाट असफल गराइयो।’ उनले भने,‘जनताको मत ठिक ठाउँमा आएन भने दुःख हुँदो रहेछ । त्यसैले हामीले जनतालाई भनेका छौँ जनताको मतको प्रयोग ठिक ठाउँमा हुन पर्यो आन्दोलनको पक्षमा हुनुपर्यो गलत ठाउँमा प्रयोग गर्न भएन ।’
ठूलो पार्टीलाई मत दिँदा संविधान बन्छ की,राम्रो हुन्छ की भनेर मत दिएपनि त्यस्तो नभएको उनले बताए ।
मत ठिक ठाउँमा नहाल्दा आन्दोलन अगाडि बढ्न नसक्ने भन्दै महतोले जनताले अब गल्ती नगर्ने बताए । ‘निर्वाचन शान्तिपूर्ण र उत्साहजनक तरिकाले सम्पन्न भएको छ । केही ठाउँमा सत्ताधारी दलको बलमिच्याइ छ।’उनले भने,‘जति चलखेल भएपनि राजपको पक्षमा जनमत छ । जनताको मतलाई सबैले सम्मान गर्नुपर्छ ।’