प्रदेश नम्बर २ का ८ जिल्लामा सोमबार बिहान ७ बजेदेखि जारी स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा मतदाताको सहभागिता उत्साहजनक रहेको छ ।
१३६ स्थानीय तह रहेको प्रदेश नम्बर दुईमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा निर्वाचन भइरहेको छ।
६ हजार ६ सय २७ पदका लागि ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धा गर्दै छन् । जसमध्ये १४ हजार तीन सय ३७ महिला र २२ हजार आठ ६१ पुरुष छन् ।
निर्वाचन आयोगका अनुसार नगरप्रमुख तथा अध्यक्षमा पुरुष १७ सय नौ र महिला ६१ जना उम्मेदवार चुनावी मैदानमा छन् । नगर उपप्रमुख र उपाध्यक्षमा भने महिलाको उम्मेदवारी बढी छ । नगर उपप्रमुख र उपाध्यक्षमा एक सय ९७ पुरुष र नौ सय १९ महिला उम्मेदवार छन्।
आयोगको तथ्यांकअनुसार वडाध्यक्षमा पुरुष आठ हजार ५२ र महिला दुई सय २३ जना उम्मेदवार छन् । हालसम्म आठजना निर्विरोध भइसकेका छन्। २१ सय ६६ मतदानस्थलमा ३५ सय ७८ मतदान केन्द्र रहनेछन् ।
आयोगका अनुसार हिजो साँझको पानीले केही ठाउँमा ढिला मतदान सुरू भएको छ भने बिहान साढे ८ बजेसम्म १५ प्रतिशत मतदान भएको छ।
तस्बिरहरू सौजन्य: प्रेम सापकोटा, रामजी दाहाल र कुमार बिष्ट।