सत्ता साझेदार नेकपा माओवादी केन्द्रको भातृ संगठन ‘वाईसियल’ले भ्रष्टाचारको विवादमा तानिएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई तत्काल निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको छ ।
वाईसियलले आइतबार आपूर्ति मन्त्री शिवकुमार मण्डललाई ज्ञापन पत्र बुझाउँदै भ्रष्टाचारको विवादमा तानिएका निगमका कार्यकारी निर्देशक खड्कालाई निलम्बन गरी तत्काल कारबाही प्रक्रिया अघि बढाउन माग गरेको हो । भ्रष्टाचारजन्य गतिविधिमा संलग्न रहँदै आएका आयल निगमका कार्यकारी निर्देशक खड्का र निगमको जग्गा खरीद सम्बन्धी निर्णय प्रक्रियामा संलग्न सबैलाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारसँग माग गर्नु परेको आईसियलका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए ।
वाईसियलले आयम निगमका कार्यकारी निर्देशक खड्काले मनपरी ढंगले आर्थिक अनियमितता गर्दा पनि सरकारले कारबाही प्रक्रिया अघि नबढाएकोमा आक्रोश पनि व्यक्त गरेको छ । त्यस अवसरमा आपूर्ति मन्त्री मण्डलले पनि दोषीमाथि कडा कारबाही हुने प्रतिबद्धता व्यक्त गरे । उनले संसदीय समितिहरूको प्रतिवेदन र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धान प्रक्रियाले पनि आयल निगमको जग्गा खरीद प्रकरणमा अनियमितता भएको देखिएको उल्लेख गर्दै सरकारले दोषीलाई उम्कन नदिने दृढता पनि व्यक्त गरे ।
आयम निगमले पेट्रोलियम पदार्थको भण्डारणका लागि जग्गा खरीद गर्दा ठूलो आर्थिक चलखेल भएको संसदीय समितिहरूले पनि निष्कर्ष निकालेपछि मन्त्री मण्डलले उनीहरूलाई कारबाहीको दायर ल्याउने प्रतिबद्धता व्यक्त गर्दै आउका छन् । आपूर्ति मन्त्रालयले सो सम्बन्धमा आफूले तयार पारेको अनुसन्धान प्रतिवेदन समेत प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश पनि गरेको छ ।