प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्था सुदृढ रहेको बताएका छन् ।
प्रमुख निर्वाचन आयुक्त यादवले निर्भिकतापूर्वक मतदानमा भाग लिन पनि प्रदेश नम्बर २ का आम मतदातालाई आह्वान गरेका हुन् ।
आइतबार जनकपुरमा स्थानीय संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले स्थानीय तह तेस्रो चरणको निर्वाचनको सुरक्षा व्यवस्था विगतका सबै निर्वाचनकोभन्दा पनि वैज्ञानिक र व्यवहारिक भएको दाबी गरे । प्रमुख निर्वाचन आयुक्त यादवले सोमबार हुने निर्वाचनमा कुनै पनि खालको आधा, अवरोध आउने अवस्था नरहेको विश्वास पनि व्यक्त गरे ।
प्रमुख निर्वाचन आयुक्त यादवले पहिलो र दोस्रो चरणको निर्वाचनमाभन्दा बढी प्रतिशत मत प्रदेश नम्बर २ को निर्वाचनमा खस्ने विश्वास पनि व्यक्त गरे। पहिलो र दोस्रो स्थानीय तह निर्वाचनमा ७४ प्रतिशत मत खसेको स्मरण गराउँदै उनले तेस्रो चरणको निर्वाचनमा त्यो भन्दा बढी मत खस्ने दाबी गरे ।
सोमबार प्रदेश नम्बर २ को १ सय ३६ स्थानमा स्थानीय तह निर्वाचन हुँदैछ ।