निर्वाचन पर्यवेक्षकहरूले निर्वाचन आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)का अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ र आम निर्वाचन पर्यवेक्षक समिति (जियोक)का अध्यक्ष हिमालय शम्शेर राणाले निर्वाचन आयोगको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
शुक्रबार काठमाडौंमा आयोजित तेस्रो चरणको स्थानीय तह निर्वाचनपूर्वको पर्यवेक्षण समीक्षा कार्यक्रममा बोल्दै नियोकका अध्यक्ष श्रेष्ठले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन हुँदा समेत सरकारलाई कारबाही गर्न नसकेकोमा आपत्ति जनाए।
पूर्व प्रमुख निर्वाचन आयुक्त समेत रहेका उनले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने संवैधानिक जिम्मेवारी पाएको आयोग सरकारको लाचार छायाँजस्तो भएकोमा आफू दुःखित भएको बताए।
अध्यक्ष श्रेष्ठले कार्यान्वयन नहुने आचारसंहिता किन बनाउनु परेको भन्दै निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराए ।
आम निर्वाचन पर्यवेक्षक समिति (जियोक)का अध्यक्ष राणाले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको प्रचार अभियानका क्रममा व्यापक आचारसंहिता उल्लंघन हुँदा समेत निर्वाचन आयोगले केही गर्न नसकेको भन्दै आपत्ति जनाए ।
उनले आयोगको निष्पक्षतामाथि नै प्रश्न चिन्ह खडा हुने बेला आएकोमा आफूलाई चिन्ता लागेको पनि उल्लेख गरे ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति र आम निर्वाचन पर्यवेक्षण समितिले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा ३ सय ८५ जना पर्यवेक्षकहरू परिचालन गरेका छन्।