नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३ 'अ' बाट मुक्त हुन सुझाव दिएका छन्।
बुधबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका शर्माले रास्वपा सांसदहरूलाई अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुन सुझाव दिएका हुन्।
‘तपाईंहरूकै सभापति रविजी गृहमन्त्री भएको समयमा भिजिट भिसामा बाहिर धेरै मानिसहरू गएका छन्। तपाईंहरूले संसद बहिष्कार गर्दै गर्दा रविजीकै पालमा सबैभन्दा बढी मानव तस्करी भएको भन्ने तपाईंहरूको निष्कर्ष हो? म सोध्न चाहन्छु। त्यसैले आवेगमा आएर विषयवस्तुलाई नहेरौं। रास्वपालाई मेरो सुझाव छ। नयाँ दल, अनुभवले खारिन बाँकी छ त्यसकारण तपाईंहरू तीनवटा ‘अ’ बाट मुक्त हुनुस्। अतार्किक अडानबाट, आवेगबाट र अराजक शैलीबाट।’
साथै उनले गृहमन्त्रीको नैतिकतामा प्रश्न उठाने नेताहरू उपसभामुखको नैतिकतामा प्रश्न उठाउनु पर्दैन भन्ने प्रश्न पनि गरेका छन्।