मधेस केन्द्रित दलहरूको साझा मोर्चा संघीय लोकतान्त्रिक मोर्चाले खडेरीले सुख्खाग्रस्त तराई–मधेसका किसानलाई विशेष सुहलियतसहित अनुदान दिन माग गरेको छ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार सम्पन्न मोर्चाको केन्द्रीय मूल समितिको बैठकले सुख्खाग्रस्त तराई–मधेसका किसानलाई आगामी फसलको लागि कृषि ऋण, मलखाद, सिँचाइ, बिउबिजन, किटनाशक औषधि उपलब्ध गराउन पनि सरकारसँग माग गरेको हो।
बैठकपछि यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'तराई–मधेसका जिल्लाहरुमा वर्षा नभएको कारणले किसानले धान खेती गर्न पाएका छैनन्। उक्त सुख्खाग्रस्त, संकटग्रस्त क्षेत्रका किसानलाई कृषि ऋणमा छुटका साथै तत्काल खानेपानीको समुचित व्यवस्था र सिँचाइका लागि डिप–वेल बोरिङको व्यवस्था गरिनुपर्छ।'
मोर्चाले दीर्घकालीन रूपमा यस्तो संकटबाट जोगाउन चुरे वन क्षेत्रको संरक्षण र जलाशय निर्माणमा ध्यान दिनुपर्ने बताएको छ।
'पर्यावरण संकटबाट तराई–मधेसका जनतालाई जोगाउन ठोस उपायहरू अवलम्बन गरिनुपर्छ,' मोर्चाले भनेको छ।
बैठकले मोर्चाद्वारा यसअघि तय गरिएका विभिन्न जिल्लाका कार्यक्रमहरूको समन्वय गर्ने दलहरू पनि तोकेको छ। जस अनुसार साउन १८ मा काठमाडौंमा हुने कार्यक्रम संयुक्त रूपमा आयोजना गरिने मोर्चाको निर्णय छ।
साउन २१ मा भैरहवामा हुने कार्यक्रमको समन्वय नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले गर्नेछ भने साउन २३ मा नेपालगन्जमा हुने कार्यक्रमको समन्वय कसले गर्ने उल्लेख छैन।
साउन २५ मा कैलालीमा हुने कार्यक्रम पनि नाउपाले समन्वय गर्नेछ भने भदौ १६ मा विराटनगरमा हुने कार्यक्रम जसपा नेपालको संयोजनमा हुनेछ।
भदौ १८ मा राजविराजमा हुने कार्यक्रम राष्ट्रिय मुक्ति पार्टी नेपालको अगुवाइमा गर्ने निर्णय गरेको मोर्चाले भदौ २० मा जनकपुरमा हुने कार्यक्रमको संयोजनको जिम्मा तराई–मधेस लोकतान्त्रिक पार्टीलाई दिएको छ।
भदौ २२ मा वीरगन्जमा हुने कार्यक्रमको संयोजन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले गर्नेछ।
मोर्चाको बैठकले अधिकार र पहिचान पक्षधर पार्टीहरूसँग मोर्चाको सहकार्य गर्ने नीति अनुसार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाल जनमुक्ति पार्टीलाई पहिलो चरणमा संवाद गर्ने निर्णय पनि गरेको छ।