नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विरूद्ध फेरि एक पटक सार्वजनिक रूपमै फायर खोलेका छन्।
उनलाई यो अवसर जुराइदिने काम 'स्कुल अफ मार्क्सिजम' ले गरेको थियो।
मंगलबार राष्ट्रिय सभागृहमा ४७ औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा 'वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन' विषयक विचार गोष्ठी आयोजना हुँदै थियो।
कार्यक्रममा जनार्दन शर्मासँगै नेत्रविक्रम चन्द 'विप्लव' र घनश्याम भूसाल पनि वक्ता थिए।
आफ्ना विचार प्रस्तुत गर्ने क्रममा माओवादी उपमहासचिव शर्माले नेपालको कम्युनिस्ट आन्दोलनको समस्या, अबको बाटो र अहिलेसम्म भए, गरेका गल्तीहरूबारे बोलेका थिए।
त्यही क्रममा उनले अहिले पार्टीभित्र जनवाद शून्यप्रायः रहेको, केन्द्रीयता मात्रै हाबी रहेको र त्यसले आदेश, चाकडी र निरंकुशता जन्माएको बताएका थिए।
नेपालको कम्युनिस्ट आन्दोलनबारे धेरै बेर बोलेर अन्त्यतिर माओवादीका बारेमा बोलेका शर्माले पार्टीले पहिल्यै पारित गरेको 'एक्काइसौं शताब्दीको जनवादको विकास' भन्ने मान्यतामा नअडिँदा समस्या बढेको बताए।
उनले भने, 'पार्टीभित्रको अन्तर्निहीत छिनाझपटीले गलत ढंगको बहसले शान्ति प्रक्रिया सँगै त्यो मान्यतामा अडिन सकेनौं। त्यो मान्यताको मुख्य कुरा नै मुख्य नेताहरू सत्तामा नबस्ने, जनतामाझ बस्ने भन्ने थियो। त्यो कुरा आज अगाडि बढाउन सकेनौं। हामीभन्दा अगाडि नै संसदीय अभ्यासमा आएको एमालेसँग पनि छलफल गर्ने भन्ने कुरा एक्काइसौं शताब्दीको जनवादको विकासको लक्ष्य थियो। तर, संसदीय भासमा हामी आफै जाकिएका छौं।'
शान्ति प्रक्रियामा आएपछि सदन र सडकमा संघर्षको कुरा गरेको स्मरण गर्दै उनले पार्टी केवल सत्ता र चुनावमा केन्द्रित भएको बताए।
'हाम्रो कमजोरी नै यही भयो,' उनले थपे, 'पार्टीभित्र दुई लाइन संघर्षलाई मार्क्स र माओले महत्वपूर्ण हतियार हो भन्नुभएको थियो। तर आज मुख्य नेताको बारे अभिव्यक्ति दिँदा समस्या आउँछ। आज पार्टीमा जनवाद छैन, केन्द्रीयता मात्रै छ। आदेश छ। चाकडी छ। निरंकुशता छ।'
उनले सबै पार्टीमा यही अवस्था रहेको दाबी पनि गरे।
शर्माले नेपालका कम्युनिस्ट पार्टीहरू सामन्ती झुण्डमा परिणत भएको पनि बताए।
'आज कम्युनिस्ट पार्टीभित्र प्रश्न सुन्न पनि सकिँदैन। प्रश्न सुन्न नेतृत्व तयार हुँदैन। जनताले प्रश्न गर्छ, हामी कान थुनेर बस्छौँ,' उनको भनाइ थियो, 'यस्तो प्रवृत्ति विकास हुँदा हामी जनवादी केन्द्रीयताको कुरा गरिराखेका छौं।'
कम्युनिस्ट पार्टीहरूले नौ–नौ पटक पटक सरकारको नेतृत्व गरेको उल्लेख गर्दै उनले मुलुकका समस्या जस्ताको तस्तै रहेको तर्फ संकेत गरे।
भने, 'नौ–नौ पटक सरकारको नेतृत्व गर्दा हामी कम्युनिस्टहरूले के दियौं, के बदल्यौं, के पूरा गर्यौं वा किन गरेनौं, यो गम्भीर प्रश्न छ।'
उनले कम्युनिस्ट आन्दोलन सुधार गर्ने कि विघटनतर्फ जाने भन्ने जिम्मेवारी आजका कम्युनिस्ट नेताहरूले बोक्नुपर्ने उनले बताए।
'आज यहाँ के के घोषणा हुन्छ भन्ने हल्ला चल्यो रे, आज यहाँ आत्मालोचना हुन्छ,' उनले भने, 'मेरा कति गल्ती छन्, जिम्मेवारी लिऊँला।'
सबैजसो पार्टीमा एकमनावादी र एकल नेतृत्व कायम हुँदै गएको र व्यक्ति सर्वेसर्वा बन्दै गएको भन्दै उनले यसले कम्युनिस्ट आन्दोलनलाई कहाँ पुर्याउला भन्ने प्रश्नसमेत गरेका थिए।
शान्ति प्रक्रियामा आएपछि एजेन्डाका बारेमा पार्टीमा छलफल र बहस हुनुपर्ने तर नभएको शर्माले बताए।
'देश कसरी समृद्ध बनाउने, उपलब्ध स्रोतसाधन प्रयोग गरेर कसरी रोजगारी सिर्जना गने भन्नेबारे बहस गर्नुपर्थ्यो। हामीले त्यो कष्ट गरेनौं,' उनले भने।
उनले चार महिनासम्म पार्टीभित्र बहस गरेको पनि स्मरण गरे।
'बहस त गर्यौं तर कसलाई कुन पदमा, के नियुक्ति गर्ने, को मन्त्री बनाउने भन्नेमा गर्यौं। गठबन्धन आफू नेतृत्वमा कसरी बनाउने भन्नेमा गर्यौं,' उनले भने।
राज्य स्रोतको दोहन कसरी गर्ने, लगानी बिना अर्बपति कसरी बन्ने भन्ने विषय वास्तविकता भएको पनि उनले बताए। पार्टीमा नेतृत्वको जय–जयकार गर्ने, दलाली गर्ने, नतमस्तकता साथ पेस हुने र नेतृत्वले पनि उसैलाई आशीर्वाद दिने प्रवृत्तिले कम्युनिस्टको स्वत्व हराएको उनको भनाइ थियो।
कम्युनिस्ट प्रधानमन्त्रीहरू असुलीधन्दामा संलग्न रहेको आरोपसमेत उनले लगाए।
'मुख्य नेतृत्वले साँच्चै भ्रष्टाचार नगर्ने भयो भने ६० प्रतिशत भ्रष्टाचार त्यसै घट्छ। राम्रो निगरानी गर्ने हो भने, राम्रो निगरानी गर्ने संयन्त्र बनाउने हो भने २० प्रतिशत त्यसले घटाउँछ। बाँकी २० प्रतिशत जनताको चेतनाले नियन्त्रण हुन्छ,' शर्माले भने, 'तर यहाँ दिन दुई गुना, रात चौगुना भ्रष्टाचार बढिरहेको छ। खुलेआम भ्रष्टाचार भइरहेको छ।'
आफूले माओवादीभित्र नेताहरूको सम्पत्ति छानबिनको प्रस्ताव गरेको समेत उनले उल्लेख गरे।
'मनमोहन अधिकारीबाहेक अरू बाँकी देशका नेताहरूले असुली धन्दा गरेकै ठहर्छ। असुलीधन्दा भएकै छ। यो आरोप होइन,' उनको भनाइ थियो।
माओवादीभित्र अध्यक्ष प्रचण्डका आलोचक मानिने उपमहासचिव शर्माले एमालेबाट पहिलो पटक कम्युनिस्ट प्रधानमन्त्री बनेका अधिकारीको प्रशंसा गरेका थिए।
अधिकारी २०५१ सालको मध्यावधि निर्वाचिनपछि एमालेले बनाएको अल्पमतको सरकारको प्रधानमन्त्री थिए।
शर्माकै नेता प्रचण्ड २०६४ सालपछि मुलुकको तीन पटक प्रधानमन्त्री बनिसकेका छन्।