नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मनमोहन अधिकारी बाहेकका देशका सबै कम्युनिष्ट प्रधानमन्त्रीहरू असुलीधन्दामा संलग्न रहेको आरोप लगाएका छन्।
पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा स्कुल अफ माक्र्सिज्मले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपमहाचिव शर्माले आफूले बोलेको विषय आरोप मात्रै नभई यथार्थ भएको बताएका हुन्।
‘मुख्य नेतृत्व भ्रष्टाचार साँच्चिकै नगर्ने भयो भने ६० प्रतिशत भ्रष्टाचार त्यसै घट्छ। राम्रो निगरानी गर्ने हो भने, राम्रो निगरानी गर्ने संयन्त्र बनाउने हो भने २० प्रतिशत त्यसले घटाउँछ, बाँकी २० प्रतिशत जनताको चेतनाले नियन्त्रण हुन्छ,’ शर्माको भनाइ थियो, ‘तर, यहाँ दिन दुई गुना, रात चौगुना भ्रष्टाचार बढिरहेको छ। खुलेआम भ्रष्टाचार भइरहेको छ।’
आफूले माओवादीभित्र नेताहरूको सम्पत्ति छानबिनको प्रस्ताव गरेको उल्लेख गर्दै शर्माले भने, ‘मैले पार्टीमा भनेँ, हाम्रो सम्पत्ति छानबिन गरौं। पार्टीका नेताहरूको सम्पत्ति छानबिन गरौं भनेँ। पार्टीले होइन, स्वतन्त्र व्यक्तिहरूबाट गरौं भनेँ। सुशासन पार्टीभित्रबाट दिनुपर्छ।’
नारा सुशासनको दिए पनि नेपालका बहुसंख्यक प्रधानमन्त्रीहरू असुलीधन्दामा संलग्न रहेको उनको भनाइ थियो। यद्यपि मनमोहन अधिकारीबाहेक अरू सबै त्यसमा संलग्न भएकै ठहर्ने उनको भनाइ थियो।
‘मनमोहन अधिकारीबाहेक अरू बाँकी देशका नेताहरूले असुली धन्दा गरेकै ठहर्छ। असुलीधन्दा भएकै छ। यो आरोप होइन’, उनको भनाइ थियो।
माओवादीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका आलोचक मानिने उपमहासचिव शर्माले एमालेबाट पहिलोपटक कम्युनिष्ट प्रधानमन्त्री बनेका अधिकारीको प्रशंसा गरेका थिए। अधिकारी २०५१ को मध्यावधि निर्वाचिनपछि एमालेले बनाएको अल्पमतको सरकारको प्रधानमन्त्री थिए।
शर्माकै नेता प्रचण्ड २०६४ पछि मुलुकको तीन पटक प्रधानमन्त्री बनिसकेका छन्।