नेकपा (एमाले)का प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे महत्वपूर्ण निर्णय गर्ने बताएका छन्।
मंगलबार पनि नवौं केन्द्रीय कमिटी बैठक जारी छ। उनले बैठक समापन गर्दा महत्वपूर्ण निर्णय गर्ने बताए।
‘बैठकको समापनमा यो विषयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री (केपी शर्मा ओली) ज्युले बैठकको अन्तिममा सम्बोधन गर्दै केही महत्वपूर्ण निर्णय लिने अपेक्षा गरेका छौं,’ उनले भने।
दोस्रो दिनको बैठकमा ५८ जनाले आफ्नो धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। पहिलो दिने ४९ जनाले आफ्नो धारणा राखेका थिए।
अब ७७ जनाले आफ्नो धारणा राखेपछि आजै बैठक सम्पन्न हुने पनि गौतमले बताए।
आजको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीति फर्किने विषय, पार्टी सदस्यता र संगठित सदस्यताको व्यवस्था गर्नेलगायतका विषयमा धारणा राखेको पनि गौतमले बताए।
‘मातहतका कमिटीहरू मुख्य गरेर निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रदेश निर्वाचन क्षेत्रीय कमिटी समन्वय कमिटीहरूलाई संविधान अनुकूल कार्यकारी कमिटी बनाउनुपर्छ भन्ने कुरालाई जोडका साथ उठाइएको छ,’ उनले भने, ‘सबैतिरको रिपोर्टिङ अनुसार पार्टीको १ लाख ३९ हजार सदस्यता वृद्धि भएको छ। यो प्रतिशतका हिसाबले करिब २८ प्रतिशत हो।’
उनका अनुसार पूर्व राष्ट्रपतिको पार्टी सदस्यता नविकरण र पार्टीमा प्रवेश गर्ने कुरालाई अधिकांश केन्द्रीय सदस्यले उठाएका थिए।
संविधानले राष्ट्रपतिलाई एकताको प्रतीक, संविधानको पालक र संरक्षक बनाएको भन्दै पार्टीमा फर्किने/नफर्कने भन्ने महत्वपूर्ण राजनीतिक विषय रहेको पनि उनले बताए।
‘राष्ट्राध्यक्ष भैसकेको व्यक्ति कुनै दलमा आउने कि नआउने भन्ने विषय प्राविधिक विषय होइन र यो पार्टी विशेषको विषय पनि होइन। यो महत्वपूर्ण राजनीतिक विषय हो। यसले भोलि जनतामा, प्रणालीमा, व्यवस्थामा के प्रभाव पार्छ यो सबै संविधानको भावनामा कस्तो नजिर र अभ्यास हुन्छ भन्ने विषयमा पार्टीले स्पष्ट एउटा स्पष्ट राजनीतिक निर्णय गर्नुपर्छ भन्ने मत अधिकांश केन्द्रीय सदस्यको मत छ,’ उनले भने।