अनुमति बिना कुनै व्यक्तिको तस्बिर खिच्न नपाउने कानुन संविधानसँग बाझिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
सोमबार मुलुकी अपराध संहिताको दफा २९५ ले प्रेस स्वतन्त्रता कुण्ठित बनाएको र संविधानसँग बाझिएको भन्दै अधिवक्ताहरू मोनिका धाख्वा, राजेन्द्र पोख्रेल, ज्ञानबहादुर बस्नेत, श्यामकृष्ण मास्के र अभयराज जोशीले संवैधानिक इजलासमा रिट दायर गरेका हुन्।
उक्त दफामा अनुमतिबिना कुनै व्यक्तिको तस्बिर खिच्न वा तस्बिरको स्वरूप बिगार्न नहुने व्यवस्था छ।
यसले सार्वजनिक स्थानको तस्बिर खिच्दा त्यस्तो स्थानमा रहेको कुनै व्यक्ति समेतको तस्बिर खिचिन गएमा कसुर भएको नमानिने उल्लेख गरेको छ।
तर यो व्यवस्था अस्पष्ट र द्विविधा सिर्जना गर्ने खालको भएको रिट निवेदकहरूको तर्क छ।
‘प्रावधान अस्पष्ट र व्याख्यात्मक द्विविधा सिर्जना गर्ने खालको छ जसले व्यावसायिक प्रेसको स्वतन्त्रता कुण्ठित बनाएको छ,’ रिट निवेदनमा उल्लेख छ।
दफा २९५ ले मौलिक हकमा अवरोध सिर्जना गर्ने भन्दै त्यसलाई बदर गर्न रिट निवेदकहरूले माग गरेका हुन्।
‘यस दफाले संविधानले आम नेपाली नागरिकको मौलिक हकको रूपमा सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक, सूचनाको हक तथा रोजगारीको हकको अभ्यासमा व्यवधान सिर्जना खडा गरी संविधानको प्रस्तावना समेतको विपरीत देखिएकोले दफा २९५ संविधान विपरीत रहेको ठहर गरी बदर गरिनु आवश्यक छ,’ निवेदनमा भनिएको छ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, संघीय संसद सचिवालय, कानून, न्याय तथा सुंसदीय मामिला मन्त्रालयलाई विपक्ष बनाइएको छ।
निवेदकहरूले दफा २९५ नेपालको संविधान, वैयक्तिक गोपनीयता सम्बन्धी ऐन २०७५, र नेपाल पक्ष रहेका मानवअधिकारसँग सम्बन्धित महासन्धीहरूका व्यवस्थाहरूसँग बाझिएको पनि उल्लेख गरेका छन्।
यसले फोटो पत्रकारहरूको रोजगारीमै समेत असर परेको समेत निवेदकको तर्क छ।
‘शक्ति र सत्तामा रहेकाहरूले दफा २९५ जस्तो प्रावधानको धाक धम्की दिएर आफू प्रतिकूलको सूचना समाचार दबाउन सक्ने अवस्था सिर्जना भएको छ। यसरी सूचना समाचार दबाइएमा नागरिकको संविधानप्रदत्त सूचना तथा सञ्चारको हक कुण्ठित हुने देखिन्छ,’ रिटमा उल्लेख छ।
निवेदकहरूले यस मुद्दाको टुंगो नलाग्दासम्म उक्त दफालाई कार्यान्वयन नगराउन अन्तरिम आदेशको माग गरेका छन्।
त्यस्तै यो विषय सार्वजनिक सरोकारको गम्भीर भएको र छिटो निर्णय हुनुपर्ने देखिएको भन्दै अग्राधिकारको पनि माग गरिएको छ।
यो रिटको पेसी साउन साउन २१ गतेका लागि तोकिएको छ।